
काठमाडौँ । ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा फरार रहेका दुई जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-२ शिवचोक घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा-८ बस्दै आएका ५८ वर्षीय कृष्णप्रसाद दंगाल र चितवन खैरानी नगरपालिका-१० घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा-८ बस्दै आएकी २८ वर्षीया सरिता गुनी छन् ।
दुवैलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार कागेश्वरी मनोहरा नगरपालिका-८ बाट पक्राउ गरेको हो । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार दंगाल र गुनीविरुद्ध नेपाल सरकार प्रतिवादी रहने गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दा दर्ता भएको थियो । उजुरी दिने व्यक्तिले उनीहरूबाट ६ करोड ६० लाख रुपैयाँ ठगी भएको दाबी गरेका छन् ।
खड्काका अनुसार दंगालविरूद्ध ५ करोड ७० लाख रुपैयाँको ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ लिएको कसुर छ । उनीविरुद्ध धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
गुनीविरुद्ध चितवनमा बैंकिङ कसुरका मुद्दा दर्ता रहेको खुलेको खड्काले बताए । ती मुद्दामा २०८१ माघ २५ गते ३२ लाख रुपैयाँ र २०८२ जेठ ९ गते ३० लाख रुपैयाँ बिगो कायम रहेको उल्लेख छ । कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार दंगाललाई धनुषा प्रहरी र गुनीलाई चितवन प्रहरीमा पठाइएको छ ।