‘काठमाडौं उत्रिएपछि मन ढुक्क भयाे’

चैत्र ९, २०८२ |सुदिल पोखरेल
‘काठमाडौं उत्रिएपछि मन ढुक्क भयाे’

काठमाडौं । पश्चिम एसियामा युद्ध चर्किएसँगै ती मुलुकमा कार्यरत नेपाली श्रमिकका परिवारमा चिन्ता बढेको छ । 

स्वदेशमा रहेका परिवारले आग्रह गरेेपछि केही कामै छाडेर फर्किन थालेका छन् । तर, फर्किएर पनि बेरोजगार बस्नुपर्ने अवस्थाका कारण केही भने अलमलमा छन् । आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन पार गरेर निस्किएपछि राज उल्लाहको अनुहार उज्यालो भयो । 

कतारमा इरानको मिसाइल र ड्रोन आक्रमणका आवाजले दिनहुँ त्रास महसुस गरेकोमा काठमाडौं उत्रिएपछि मन ढुक्क भएको उहाँको भनाइ छ । कतार र दुबईबाट फर्केका नेपालीहरू स्वदेश फर्कन पाएकोमा भन्दा युद्धग्रस्त क्षेत्र छाडेर आउन पाएकोमा खुसी देखिए । 

केही अब विदेश नजाने गरी फर्किएका थिए भने केही छोटो समयका लागि छुट्टी लिएर आएकाहरू । छुट्टी लिएर आएकाहरू भने फेरि उतै फर्कनुपर्ने भएकाले धेरै बोल्न चाहेनन् । इरानले इन्धन आपूर्तिको मुख्य मार्ग हर्मुजमा गरेको अवरोधका कारण पानीजहाज चलेका छैनन् । 

यसैले पानीजहाजमा काम गर्ने नेपाली कामदारहरू पनि फर्किएका छन् । युद्ध नरोकिएकाले अधिकांशलाई फेरि जान मान छैन । तर, स्वदेशमा फर्किए पछि पनि उद्यम वा रोजगारीको सुनिश्चितता नभएकोमा चिन्ता छ । स्वदेश फर्किएकाहरू सबैलाई लागेको छ-यहीँ नै रोजगारी भइदिएको भए ज्यानको जोखिम मोलेरै विदेशमा बस्नुपर्ने अवस्था अन्त्य हुने थियो । तर, आवश्यक मात्रामा रोजगारी सिर्जना हुन नसक्दा दैनिक दुई हजारभन्दा बढी श्रमिक कामकै खोजीमा विदेशिइरहेका छन् ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।