
काठमाडौं । सङ्कटा फुटबल क्लबले नेपाली फुटबल क्षेत्रमा देखिएको पछिल्लो जटिल परिस्थितिबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
क्लबले साेमबार पत्रकार सम्मेलन गर्दै विदेशी खेलाडीका लागि श्रम स्वीकृतिसम्बन्धी आवश्यक सबै कागजात प्रतियोगिता सुरु हुनु अघि नै एन्फामा पेस गरिएको भए पनि आफूहरूलाई दोषी देखाइएकोप्रति असन्तुष्टि जनाएको हो । क्लबका अध्यक्ष ईन्द्रमान तुलाधारले, पुसमै श्रम स्वीकृति लिइसकेको र कर तिर्न पनि क्लब तयार रहेको बताए।
क्लबले एन्फाको निर्देशनअनुसार विदेशी खेलाडीसम्बन्धी सबै प्रक्रिया पूरा गरिसकेको जनाएको छ। तर, हालको अन्योलपूर्ण अवस्थाका कारण क्लबको आर्थिक लगानी जोखिममा परेको संकटाको दाबी छ । महिला लिगका लागि चार विदेशी खेलाडी अनुबन्ध गरिसकेको सङ्कटाले अहिले ती खेलाडीको श्रम स्वीकृतिकै कारण लिग रोकिएको जनाएको छ।
लिग पुन सञ्चालन कहिले हुने भन्ने टुंगो नलाग्दा क्लबले दुई हप्तासम्म पर्खिने बताएको छ। सीमित स्रोत-साधनका बाबजुद पनि प्रतियोगितामा सहभागिता जनाउँदै आएको र नेपाली फुटबलको विकासमा योगदान दिइरहेको दाबी क्लबको छ। तर पछिल्लो समय सम्बन्धित निकायले श्रम स्वीकृति रोकेको र महिला लिग सञ्चालनमा अवरोध सिर्जना गरेको क्लबले गुनासो गरेको छ।
साथै, प्रतियोगिताहरू नियमित रूपमा सञ्चालन गर्न, विदेशी खेलाडीहरूको श्रम स्वीकृति प्रक्रिया तत्काल स्पष्ट गर्न र आवश्यक समन्वय गर्न क्लबले माग गरेको छ।