साफ यू-२० च्याम्पियनसिपमा नेपालकाे विजयी सुरूआत

चैत्र ९, २०८२ |खेल ब्युरो
साफ यू-२० च्याम्पियनसिपमा नेपालकाे विजयी सुरूआत

काठमाडौं । नेपालले साफ यू-२० च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । 

माल्दिभ्समा साेमबारदेखि सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले १० खेलाडीमा सीमित भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको हो । मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाललाई जित दिलाउन सुजन डंगोल र सुवास वमले गोल गरे । 

भुटानका लागि धेनदुप ग्यालसेनले सान्त्वना गोल फर्काए । खेलको सुरूआतमै नेपालले इन्डाइरेक्ट फ्रिकिक पाएको थियो । भुटानी गोलरक्षकले आफ्नै सहकर्मीले दिएको बललाई हातले छुँदा नेपालले इन्डाइरेक्ट फ्रिकिक पाएको हो । उक्त अवसरलाई सुजनले सदुपयोग गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

खेलको १४औं मिनेटमा भुटान १० खेलाडीमा सीमित भयो । खेलको ५२औं मिनेटमा सुवासले बक्स बाहिरबाट सानदार गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा भुटानले सान्त्वना गोल फर्कायो । त्यसपछि दुबै टिमबाट थप गोल हुन नसक्दा नेपालले जित हात पार्यो ।

जितसंगै ३ अंक जोडेको नेपाल समूह एको शीर्ष स्थानमा पुगेको छ । अब नेपालले बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ भने शुक्रबार आयोजक माल्दिभ्ससँग खेल्ने छ । समूहको शीर्ष २ मा रहन सके सेमिफाइनलमा स्थान बनाउने छ ।