घर नहुनेलाई न नागरिकता, न त सरकारकै भर

चैत्र ९, २०८२ |पोषनाथ अधिकारी
घर नहुनेलाई न नागरिकता, न त सरकारकै भर

काठमाडौं । दुई पुस्तादेखि ओडारमा बाँचिरहेको एउटा परिवारको कथा । आजका दिनमा ओडार र गुफामा मान्छे बसेको कथामा मात्रै सुनिनुपर्ने हो । तर, त्यस्तो छैन। धादिङमा चारजनाको एउटा परिवार दुई पुस्तादेखि ओडारमुनि बाँच्दै आएको छ र यो कुनै किताबी कथाको कुरा होइन, धादिङको बेनीघाट रोराङ गाउँपालिका ९ मैवाङको कुरा हो। 

ढुङ्गामुनी जीवन जिईरहेका इस्तराम र परिवार, हाम्रा धादिङ सहकर्मी पोषनाथ अधिकारीको यो रिपोर्ट।

बेनीघाट रोराङ गाउँपालिका ९ मैवाङको यो ओडारमा ईस्तराम प्रजा, उनकी श्रीमती विखिमायाँ, छोरा सुब्बा र बुहारी विष्णुमायाँको दैनिकी बित्छ। छोरा बुहारीले कहिलेकाही साहुकोमा गएर कमाएर ल्याउने चामल र तरकारी बाहेक उनीहरूले अहिले पनि तरूल र गिठा खोजेर जीवन धानिरहेका छन्।

नेपालको संविधान धारा ३७ ले सबै नागरिकलाई आवासको अधिकार दिएको छ। तर ईस्तराम र उनको परिवारले अहिलेसम्म एउटा आश्रयसमेत पाउन सकेको छैन। पहाडको एकान्तमा ढुङ्गाको ओतले सधैं के धान्थ्यो र ? उनीहरू हिउँदमा त जसोतसो पकाएर खान्छन् नै, बर्खामा पानी भित्रैसम्म जान्छ। कैयन दिन त आगोसमेत फुक्न सक्ने अवस्था हुँदैन।

सरकारले विभिन्न समयमा राष्ट्रिय आवास नीति तथा जनता आवास कार्यक्रममार्फत विपन्न नागरिकलाई घर उपलब्ध गराउने घोषणा गरे पनि ईस्तरामका लागि त्यसको कुनै अर्थ छैन। न पालिकाका जनप्रतिनिधिका लागि इस्तरामको पीडासँग चासो छ, न भोट खोज्दै विपन्न बस्ती पुग्ने नेतालाई सिंहदरबार त टाढाको कुरा भयो । 

ईस्तराम र उनकी श्रीमती विखिमायाँलाई आफू कति वर्ष भएँ भन्ने पनि हेक्का छैन । नागरिकता भए पो ? छोरा बुहारीको भने नागरिकता बनेको छ । नागरिकता अनुसार छोरा सुब्बा २०१९ सालमा जन्मिएका हुन् । भोट हाल्नसमेत गए उनीहरू । तर, दुःख देख्ने कोही भएनन् ।

ईस्तरामको परिवारका बारेमा थाहा पाएर बेला बखत सहयोग लिएर पुग्ने काठमाडौं बौद्धका तुलसी श्रेष्ठ अहिले पनि नागरिक ओढारमा बस्नु पर्ने अवस्था हुनुलाई दुःखद भएको बताउनु हुन्छ। अबको केही दिनमै झन्डै दुई तिहाइ बहुमतको सरकार निर्माण हुँदैछ। 

सरकारसँग जसरी आम नागरिकको अपेक्षा छ घरबारविहीन ईस्तराम र उनीहरूको परिवारको पनि आशा र भरोसा छ।

के अब सरकारले सुन्ला ओडारमा बसिरहेका इस्तरामको आवाज ?


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।