
काठमाडौं । लुम्बिनी प्रदेश प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ।
लुम्बिनीले कोशी प्रदेशविरुद्ध १ सय ४८ रनको एक पक्षिय जित हात पार्यो । लुम्बिनीका लागि कप्तान देव खनालले ब्याटिङबाट उत्कृष्ट योगदान दिँदा सन्तोष यादवले उत्कृष्ट अलराउण्ड प्रदर्शन गरे । जनकपुरको रामजानकी बहुउद्देश्यीय रंगशालामा कोशीले टस जितेर फिल्डिङ रोजेको थियो ।
पहिला ब्याटिङ गरेको लुम्बिनीले ४९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २ सय ४९ रनको योगफल तयार पारेको थियो । पहिलो विकेटका लागि रन्जित खड्का र देवले ८६ रनको साझेदमारी गरेका थिए । रन्जित ३५ रनमा बाहिरिए । त्यसपछि निरन्तर विकेट गुमाएको लुम्बिनीका लागि देवले ९२ रनको अर्ध शतकीय योगदान गरे ।
३६औं ओभरमा सुजन थपलियाको एलविडब्यू धरापमा परेपछि देव शतक बनाउनबाट ८ रनले चुके । सन्तोष यादवले ४८ रन जोडे । राजेन्द्र बमले १६ र आकाश त्रिपाठीले १२ रन बनाए । कोशीका सुजन थपलियाले १० ओभरमा ३५ रन खर्च गरेर ४ विकेट लिए । दीपेश कँडेलको नाममा २ विकेट रह्याे ।
जवाफमा २ सय ५० रनको लक्ष्य पछ्याएको कोशी ३१ ओभर ४ बलमा १ सय १ रनमा सेमेटियो । उसका लागि अंकित सुवेदीले सर्वाधिक ३० रन बनाए । दीपेश कँडेलले १५ र सुजन थपलियाले ११ रन बनाए । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीका लागि सन्तोषले ४ विकेट लिए । राजेन्द्र बमले ३ र निर्मल गुरुङले २ विकेट हात पारे ।
यससँगै २ खेलमा ३ अंक जोडेको लुम्बिनी प्रतियोगिताको शीर्ष स्थानमा पुगेको छ। कर्णाली प्रदेशसँगको उसको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । कोशी २ खेलमा १ अंकसहित तालिकाको सातौं स्थानमा छ ।