प्रधानमन्त्री कप : कर्णालीमाथि सुदूरकाे जित

चैत्र ९, २०८२ |खेल ब्युरो
प्रधानमन्त्री कप : कर्णालीमाथि सुदूरकाे जित

काठमाडौं । दायाँ हाते मध्यम तीव्र गतिका बलर हेमन्त धामीले ६ विकेट लिएपछि सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ ।

सुदूरपश्चिमले कर्णालीलाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । वीरगजञ्जको नारायणी क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेको थियो । पहिला ब्याटिङ गरेको कर्णालीले ३२ ओभरमा सबै विकेट गुमाउँदै १ सय १९ रन मात्र बनाउन सक्यो । 

कर्णालीका लागि सुनिल धमलाले २८, अर्भिन्द घर्तीले १३ तथा विपिन रावलले सर्वाधिक ३३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । १ सय ४ रन बनाउँदा ५ विकेट गुमाएको कर्णालीले थप १५ रन जोड्दा बाँकी पाँच विकेट गुमायो । कर्णालीको ब्याटिङ अडरलाई तहसनहस पारेका हेमन्तले ७ ओभर बलिङ गर्दै १ मेडनसहित १६ रन खर्चेर ६ विकेट लिए ।

१ सय २० को लक्ष्य पछ्याएको सुदूरपश्चिमले २९ ओभर २ बलमा ६ विकेट गुमाउँदै जित पुरा गर्यो । यसका लागि किरण ढगुन्नाले सर्वाधिक २६ र खडक बोहोराले २३ बनाए । मिलन बोहोरा १८ र कप्तान शेर मल्ल १० रनमा नटआउट रहे । कर्णालीका बलरले पुनरागमनको प्रयास गरेपनि न्यून योगफल रक्षा भने गर्न सकेनन् । कर्णालीका अनुज चनारा र दिवान पुनले समान २-२ विकेट लिए ।

यससँगै सुदूरले पहिलो खेलबाटै २ अंक जोडेको छ । कर्णालीको १ अंक छ । लुम्बिनीविरुद्धको पहिलो खेल वर्षाका कारण रद्द भएपछि कर्णालीले अंक बाँडेको थियो ।