कराँते खेलाडी एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

चैत्र ९, २०८२ |खेल ब्युरो
कराँते खेलाडी एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय कराँते टोलीकी सदस्य तथा कीर्तिमानी खेलाडी एरिका गुरुङलाई तमु धी एशोसिएसन यूकेले आफ्नो सद्भावना दूत नियुक्त गरेको छ ।

त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफको कार्यलयमा साेमबार पत्रकार सम्मेलन आयोजना गर्दै एरिकालाई एक वर्षका लागि उक्त जिम्मेवारी प्रदान गरिएको हो । सन् २०२६ को अप्रिलदेखि सन् २०२७ को अप्रिलसम्मका लागि उनलाई सद्भावना दूत नियुक्त गरेको तमु धी एशोसिएसन यूकेले जनाएको छ । 

तमु धी एशोसिएसन युकेका अध्यक्ष जुमकाजी गुरुङ र उपाध्यक्ष कमल गुरुङका साथै एरिका गुरुङ, नेपाल कराँते महासंघका अध्यक्ष दावा गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । विश्व नम्बर एक बन्नका लागि एरिकालाई तमु धी एशोसिएसन यूकेले सहयोग गर्ने भएको हो ।

सम्झौता अनुसार विश्व कराँते महासंघ र एसियन कराँते महासंघका आधिकारिक प्रतियोगिता खेल्न तमु धी एशोसिएसन युकेले टिकट, आवश्यक खेल सामग्री, ट्य्राक सुट र हरेक प्रतियोगिताका लागि पाँच सय अमेरिकी डलर उपलब्ध गराउने भएको छ ।