
काठमाडौं । प्रतिनिधिसभाका १० वटा विषयगत समितिसहित दुईवटा संयुक्त समिति गठन भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले दलहरूबाट प्राप्त सदस्यहरूको नाम पढेर सुनाउँदै समिति गठन गर्नुभएको हो । अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समिति गरी १० विषयगत समिति गठन भएको हो ।
यस्तै, संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति गरी थप दुई संयुक्त समिति पनि गठन भएका हुन् । संयुक्त समितिमा १२-१२ जना सदस्य तोकिएका छन् भने अन्य समितिमा भने बढीमा २७ जनासम्म रहने व्यवस्था छ ।
वैशाख ४ गते समिति सभापतिहरूको निर्वाचन हुने तय भएको छ । यसअघि दलहरूबीच कुरा नमिल्दा संसदीय समिति महिनौँसम्म पनि गठन हुने गरेका थिएनन् । यसपटक भने प्रतिनिधिसभा नियामावली संशोधन भइरहेकै बेला समिति पनि गठन भएका छन् ।