प्रधानमन्त्री कप : प्रतियोगिताको फाइनल पुग्नबाट चुक्याे मधेश

चैत्र २७, २०८२ |खेल ब्युरो
प्रधानमन्त्री कप : प्रतियोगिताको फाइनल पुग्नबाट चुक्याे मधेश

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशविरूद्ध हार व्यहोर्दै मधेश प्रदेश प्रतियोगिताको फाइनल पुग्नबाट वञ्चित भएको छ । 

बागमतीविरुद्धको लक्ष्य पछ्याउन नसक्दा मधेश प्रदेश प्रतियोगिताको फाइनल पुग्ने दौडबाट बाहिरिएको हो । वीरगञ्जको नारायणी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा बागमती प्रदेशले मधेश प्रदेशमाथि ३५ रनको महत्वपूर्ण जित हात पारेको छ । मधेश प्रदेशले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको बागमतीले ४८ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २ सय ८ रनको योगफल तयार पारेको थियो । 

बागमतीका लागि उत्तम मगरले धैर्यपूर्ण ब्याटिङ गर्दै ७५ बलमा ४४ रन जोडेर टोलीको इनिङ्स सम्हाले । मधेशका बलर पवन सर्राफले १० ओभरमा ३१ रन खर्चिएर ३ विकेट लिँदै बागमतीलाई सस्तैमा समेट्ने प्रयास गरेका थिए । २ सय ९ रनको समान्य लक्ष्य पछ्याएको मधेशको मध्यक्रम चल्न नसक्दा ३४ ओभर ३ बलमा १ सय ७३ रनमै समेटियो । 

मधेशका लागि मयन यादवले सर्वाधिक ४० रनको योगदान दिए पनि अन्य ब्याटरले उनलाई साथ दिन सकेनन् । बागमतीको बलिङमा प्रतिश जिसी घातक साबित भए । उनले ९ ओभर ३ बलमा ५५ रन खर्चिँदै ५ विकेट लिएर मधेशको ब्याटिङ लाइनअप ध्वस्त पारे । 

हारसँगै घरेलु मैदानमा खेलिरहेको मधेश प्रदेशको फाइनल पुग्ने सपनामा पूर्णविराम लागेको छ । ७ खेलबाट ९ अंक जोडेको मधेश नेट रन रेटमा नेपाल पुलिस क्लबभन्दा पछि पर्दै चौथो स्थानमा झरेको छ । त्रिभुवन आर्मी क्लब १३ अंकका साथ शीर्ष स्थानमा र सुदूरपश्चिम १० अंकका साथ दोस्रो स्थानमा रहँदा मधेशका लागि अब शीर्ष दुईमा पुग्ने गणितीय सम्भावना समाप्त भएको छ । 

प्रतियोगितामा बागमती प्रदेश ४ जित र ४ हारका साथ ८ अंक जोडेर छैटौँ स्थानमा छ ।