
काठमाडौं । नेपाली महिला क्रिकेटको इतिहासमा एउटा स्वर्णिम अध्याय सुरु हुने भएको छ ।
वर्षौंसम्म पुरुष क्रिकेटको छायामा रहेको महिला क्रिकेटले अब छुट्टै र बलियो पहिचान बनाउने तयारी गरिरहेको छ । नेपाल क्रिकेट संघ -क्यानले आईसीसीबाट प्राप्त अनुदानको एक ठूलो हिस्सा, अर्थात् साढे सात करोड रूपैयाँ, महिला क्रिकेटको विकासका लागि विनियोजन गरेको छ ।
नेपाली महिला क्रिकेट टोली, जसले सीमित स्रोत र साधनका बाबजुद पनि अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो बलियो उपस्थिति जनाउँदै आएको छ । सन् २००३ बाट संस्थागत यात्रा सुरू गरेको महिला क्रिकेटले अहिले आएर एक ठूलो वित्तीय प्रोत्साहन पाएको छ ।
क्यानले छुट्याएको यो पाँच लाख अमेरीकी डलर अर्थात्, साढे सात करोड बजेटले महिला क्रिकेटलाई केवल भत्ता र पारिश्रमिकमा मात्र सीमित नराखी तल्लो तहदेखि नै बलियो बनाउने लक्ष्य राखेको छ । यो बजेट मुख्यतया उमेर समूहका प्रतियोगिताहरू, व्यावसायिक प्रशिक्षण कार्यक्रम र जिल्ला तथा प्रदेश स्तरमा क्रिकेट पूर्वाधार निर्माणका लागि खर्च गरिनेछ ।
यसका साथै खेलाडीको कल्याणकारी योजना र आवश्यक खेल सामग्री खरिदमा पनि यसले ठूलो मद्दत पुर्याउनेछ । नेपालको सिनियर टोली विश्वकपको ग्लोबल क्वालिफायरसम्म पुगिसकेको छ भने यू-१९ टोलीले सन् २०२३ को विश्वकप खेलेर इतिहास रचिसकेको छ । टोलीमा अहिले पहिलो पटक विदेशी प्रशिक्षक नियुक्तिले पनि थप उर्जा थपेको छ ।
आईसीसीको डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको नेपालमा महिला क्रिकेटप्रतिको आकर्षण पनि बढ्दो छ । तर, चुनौतीहरू अझै बाँकी नै छन्, विशेषगरी यो बजेटको सही कार्यान्वयन र वर्षैभरि अन्तर्राष्ट्रिय खेलहरूको सुनिश्चितता क्यानका लागि अबको मुख्य परीक्षा हुनेछ ।