महाेत्तरी । जनकपुरधाम उपमहानगरपालिका १४ की रूबीकुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख बन्न सफल हुनुभएको छ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसद रहनु भएकी उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समर्थन जनाएपछि उहाँले उपसभामुखसम्मको यात्रा तय गर्नुभएको हो । केही महिना अगाडिसम्म सांसदसम्म बन्छु भन्ने समेत नसोचेकी रूबी उपसभामुख बनेपछि उहाँको टोल छिमेकमा उत्सवकै माहाेल छ । उहाँकी आमा रेणुदेवी ठाकुरलाई सुरुमा सन्तानको रूपमा ४ छोरी मात्रै हुँदा एकदमै दुःखी हुनु हुन्थ्यो । तर, आज छोरी र"बी देशकै संसद हाक्ने स्थानमा पुगेपछि औधी खुसी हुनु हुन्छ ।
यता बुवा राम सोगारथ ठाकुरलाई समेत खुसीको सीमा छैन । छोरी रूबी राजनीतिमा प्रवेश गर्दा तथा सांसद बन्दासम्म वैदेशिक रोजगारीमै हुनु हुन्थ्यो । छोरी संसद्मा पुगेपछि बिदामा घर फर्किनु भएको हो । उहाँ आफ्नो गरिबी जीवन स्मरण गर्नु हुँदै छोराछोरीले भोग्दै आएको दुःख सोचेर भावुक बन्नु हुन्छ।
उहाँले सन्तानहरुको लालन पालनका लागि इँटा भट्टामा काम गर्नुदेखि लिएर, खेतमा काम गर्नुका साथै कपाल काट्नेसम्मको काम गरेको स्मरण गर्दै छोरीको उडान देखेर सबै दुःख पीडा गायब भइसकेको अनुभूति भइरहेको बताउनु हुन्छ। रूबीका बुवा ठाकुर अब देशका सबै विपन्न तथा उत्पीडितका लागि काम गर्ने विश्वास व्यक्त गर्नु हुन्छ ।
उपसभामुख ठाकुरका बुवा आमा अहिले आफ्नो खुसी शब्दमा बयान त गर्न सकिरहेका छैनन् सँग सँगै टोल छिमेकमा उहाँ छोरीहरूका लागि उदाहरणको रूपमा अगाडि आउनु भएको छ। जनकपुरधाम १४ मुजेलियाका स्थानीय यहाँका छोरी पनि देशको नीति निर्माण तहसम्म पुग्ने कल्पना सम्म गरेका थिएनन्। तर, रुबीको सफलताले यहाँका छोरी बुहारी पनि केही गरेर देखाउन सक्ने प्रमाणित भएकोमा छिमेकमा उत्सवजस्तै छ।
जनकपुरधामस्थित मुजेलियामै जन्मिनु भएकी रूबी सामान्य परिवारबाट राजनीतिमा उदाएकी युवापुस्ताकी प्रतिनिधि पात्र हुन् । उहाँका बुबा वैदेशिक रोजगारीका लागि साउदी अरबमा कार्यरत हुनु हुन्छ । आमा गृहिणी हुन् । घरमा ३ दिदी बहिनी र २ भाइ छन्।
सीमित आम्दानी भएको परिवारमा हुर्किनु भएकी रूबीले सानैदेखि जिम्मेवारी र संघर्षको जीवन बिताउनु भएको हो। देशकै कान्छी सांसदका रूपमा चिनिएकी उनी अब उपसभामुखको जिम्मेवारी सम्हाल्नु भएको छ । उहाँका लागि सदनमै बोल्नु भएको कुरा सामाजिक कुरीति र अन्यायविरूद्ध प्रभावकारी भूमिका खेल्ने चुनौती हुनेछ।