
काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल एपीएफ क्लबले चौथो जित हात पारेको छ।
प्रतियोगितामा राम्रो सुरुआत गरेको एपीएफले शुक्रबार पाँच रनको जित निकालेसँगै फाइनल पुग्ने गणितीय सम्भावनालाई भने जीवितै राखेको छ। जनकपुरको श्रीराम जानकी बहुउद्देश्य रंगशालामा भएको खेलमा कोशी प्रदेशले पहिले फिल्डिङ रोजेपछि एपीएफले दुई सय २५ रन बनाएको थियो ।
उसले ४७ ओभर पाँच बलमा सबै विकेट गुमाएर २ सय २५ रन बनाएको थियो। ओपनर दिपक बोहोरा पाँच र आसिफ शेख एक रनमा बाहिरिए पनि त्यसपछि तीन ब्याटरले उत्कृष्ट प्रदर्शन गरे। सन्दीप जोराले नौ बाउन्ड्री प्रहार गरेर ७२ रन जोड्दै एपीएफलाई सहज अवस्थामा पुर्याएका थिए।
सुमित महर्जनले पनि ५७ रनको अर्धशतकीय पारी खेलेका थिए। रोहित पौडेलले २० रनको योगदान गर्न सके। एपीएफविरुद्ध कोशीका सुजन थपलियाले तीन विकेट लिए भने विपिन महतो र दिपेश काडेलले समान २-२ विकेट लिएका थिए। जवाफमा कोशी प्रदेशले सानदार सुरुआत गर्यो। तर, लक्ष्यमा पुग्नलाई मात्र पाँच रनले चुक्यो।
एक बल बाँकी रहँदा पुलिस २ सय २० रनमा अलआउट भयो। ओपनर सुमन श्रेष्ठ र अंकित सुवेदीले एक सय २२ रनको शतकीय साझेदारी गरेका थिए। २५ ओभर तीन बलमा अंकित व्यक्तिगत ७२ रन बनाएर आउट भए। उनले ११ चौका र एक छक्का प्रहार गरे। सुमनले पाँच छक्कासहित ६५ रनको उत्कृष्ट पारी खेलेका थिए।
रोहन शाहले ३२ रन बनाए पनि बाँकी खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा एपीएफका बलर हाबी भएका हुन्। एपीएफका अभिषेक गौतमले १० ओभरमा ४१ रन खर्चिएर चार विकेट लिएका थिए। रोहित पौडेलका नाममा पनि २ विकेट रह्याे। शुक्रबारको जितसँगै ८ खेलमा नौ अंक बनाएको एपीएफ अंक तालिकाको चौथो स्थानमा छ। कोशी प्रदेश भने पुछारमा छ।