
काठमाडौं । काठमाडौंमा घोडेजात्रा पर्व मनाइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा काठमाडौंको टुँडिखेलमा एक विशेष समारोहका बीच जात्रा सम्पन्न भएको हो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरूलगायतका उपस्थिति रहेको थियो ।
समारोहमा नेपाली सेनाका तर्फबाट अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिएको थियो । काठमाडौं उपत्यकामा चैत्र कृष्ण औँशीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व मनाउने गरिन्छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा वास गर्ने गुरूमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो ।
पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहि रह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँशीका दिन घोडेजात्रा गरी गुरूमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको किवदन्ती छ ।
सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरूमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरूमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ । यसै अवसर पारेर सरकारले बुधबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिएको थियो ।