चौतारा-झ्याँडी सडक निर्माण अलपत्र, ढिलासुस्तीले स्थानीय आक्रोशित

चैत्र ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
चौतारा-झ्याँडी सडक निर्माण अलपत्र, ढिलासुस्तीले स्थानीय आक्रोशित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा-नवलपुर-मेलम्ची सडक खण्डअन्तर्गत चौतारा-झ्याँडी खण्डको निर्माण कार्य ठेकेदार कम्पनीको लापरबाही र ढिलासुस्ती कारण अलपत्र परेपछि स्थानीय आक्रोशित बनेका छन्। 

सिद्धबाबा कन्स्ट्रक्सनले २४ महिनाभित्र कालोपत्रे तथा मर्मत सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, सम्झौता भएको ३२ महिना बितिसक्दा पनि काम पूरा हुन नसक्दा दिनहुँ धुलो र हिलोको समस्या भोग्नु परेपछि स्थानीय आक्रोसित बनेका हुन्।

सिन्धुपाल्चोकको सदरमुकामसँग जोडिएको चौतारा-झ्याँडी सडक खण्डको सडक निर्माण लामो समयदेखि पूरा नभएकाले अहिले पनि स्थानीयले धुलो र हिलोको समस्या भोग्न बाध्य भएका छन्। सडकबाट उड्ने धुलो घरभित्र पस्दै भान्सासम्म पुग्ने गरेको छ। 

धुलोकै कारण स्थानीयबासीमा स्वास्थ्य समस्याका साथै सवारी दुर्घटना बढ्ने खतरा बढेर गएको छ। यो सडकको विजोक अवस्थाकै कारण यहाँका स्थानीयले ढुक्कसँग यात्रा गर्न पाएका छैनन् । धुलो र हिलोका कारण अस्पताल र दैनिक काम लिएर सदरमुकाम जान आउन सास्ती झेल्दै आएका छन् ।

सिन्धुपाल्चोकको सदरमुकामसँग जोडिएको चौतारा-झ्याँडी सडक स्तरोन्नति तथा कालोपत्रेको ठेक्का सिद्धबाबा कन्स्ट्रक्सनले २०८० असार २२ गते लिएको थियो । ८ दशमलव २ किलोमिटर सडक २६ करोड ८२ लाख ९३ हजार २ सय ६० रूपैयाँ लागतमा २०८२ असारभित्र सम्पन्न गर्ने सम्झौता गरिएको थियो । 

निर्धारित समयमा काम नसकिएपछि निर्माण कम्पनीलाई गत पुस मसान्तसम्म म्याद थप गरिएको थियो। तर, सम्झौता भएको ३२ महिना बित्दा पनि हालसम्म करिब ४० प्रतिशत मात्रै काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। कार्यालयले निर्माण कम्पनीलाई १५ पटक पत्र पठाएर असार मसान्तभित्र काम सम्पन्न गर्न ताकेता गरेको जनाएको छ।

भित्ताको माटो काट्ने, टेवा पर्खाल, र नाली बनाउनेलगायतका काम विचमै भद्रगोल छ। यसकारण बर्खा अगावै काम सम्पन्न गर्न स्थानीयले दबाब दिन थालेका हुन्।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.