
काठमाडौँ । काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै छ । हरेक वर्ष चैत कृष्ण औँसीका दिन पर्ने यस पर्वका अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदासमेत दिएको छ ।
धार्मिक र सांस्कृतिक महत्त्वको यस पर्वका अवसरमा नेपाली सेनाले बर्सेनि टुँडिखेलमा विशेष समारोह गर्दै आएको छ । आज पनि एक कार्यक्रमका बीच सेनाले सैनिक कौशल, अश्वकला र युद्धकलाको प्रदर्शन गर्नेछ ।
घोडेजात्रासँग जोडिएको जनश्रुतिअनुसार टुँडिखेलको दक्षिणपूर्वमा रहेको एक रुखमा गुरुमापा भनिने एक राक्षस बस्दथ्यो । गुरुमापाले सहरका बालबालिकालाई आफ्नो आहार बनाउने गर्दथ्यो । जसलाई स्थानीयले विभिन्न जुक्ति लगाएर पछि संहार त गरे तर यसको प्रेत पुनः जागा भई बालबालिकालाई सताउन सक्ने भय पनि कायमै रह्यो । यही कारण चैत कृष्ण औँसीका दिन घोडा दौडाएर गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चिएर दबाउन थालियो । यतिबेला उत्पन्न हुने ध्वनि र वेगले दुष्ट शक्ति नष्ट गर्ने र बालबालिकालाई खतरा नहुने जनविश्वास छ ।
यसबाहेक आजकै दिन बालबालिकाको सुरक्षाको कामना गर्दै सोही रुखको फेदमा गुरुमापालाई भोजन अर्पणसमेत गर्ने गरिन्छ ।