डीएसपी लम्साल फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’

चैत्र ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
डीएसपी लम्साल फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायब उपरीक्षक किशोर लम्साललाई फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ । प्रहरी कार्यालयका अनुसार विभागीय मूल्यमान्यता तथा आदेश निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेको आधारमा लम्साललाई उक्त सम्मान प्रदान गरिएको हो ।

डीएसपी लम्सालले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा झापा निर्वाचन क्षेत्र नं. ५ जस्तो संवेदनशील क्षेत्रमा शान्ति सुरक्षा कायम राख्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गराउन महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

त्यसैगरी, जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियार खोजी गर्दै वाई १३४८७ नम्बरको मार्का–४ राइफल बरामद गर्नुभएको थियो । साथै, विभिन्न स्थानबाट १९ जना प्रतिवादीलाई पक्राउ गर्न पनि उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

यस्तै जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी कार्यालयको पुनःनिर्माण तथा मर्मतमा स्थानीय तह, संघसंस्था र स्थानीय बासिन्दासँग समन्वय गर्दै कार्यालयलाई पुनः सञ्चालनयोग्य बनाउने काममा समेत उहाँले सक्रियता देखाउनुभएको थियो ।

यस्तै, ध्वनि प्रदूषण गर्ने २ सय १७ मोटरसाइकलधनीलाई कारबाहीको दायरामा ल्याउनुका साथै चालु तथा पेन्डिङ मुद्दाका मिसिल पुनःनिर्माणमा पनि समन्वयकारी भूमिका खेल्नुभएको थियो । हालसम्म विभिन्न मुद्दाका २२ फरार प्रतिवादी पक्राउ गर्न समेत उहाँको भूमिका महत्त्वपूर्ण रहेको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.