खोटाङमा हेलिकाेप्टर दुर्घटना

चैत्र ४, २०८२ |उत्तम चौलागाईं
खोटाङमा हेलिकाेप्टर दुर्घटना

खोटाङ । खोटाङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको छ ।

काठमाडौंबाट ५ यात्रु बोकेर गएको एयर डाइनेस्टीको नाइन एन ए एफ क्यु कल साइनको हेलिकोप्टरको खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा दुर्घटना भएको हो । हेलिकोप्टर अवतरणका क्रममा सन्तुलन गुमाउँदा दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

बिहान ११ बजे काठमाडौंबाट उडेको हेलिकोप्टर ११ बजेर ५१ मिनेटमा अवतरणका क्रममा दुर्घटना भएको हो । दुर्घटनामा एक यात्रु सामान्य घाइते भएको जनाइएको छ । केपीलासगढी गाउँपालिकाका अध्यक्ष समीर राईले बारीको डिलमा अवतरण गर्नेक्रममा हेलिकोप्टर दुर्घटना भएको जानकारी दिनुभयो । 

सुरुमा डिलमा अवतरण हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताउनुभयो । यसैबीच उद्धारका लागि काठमाडौंबाट अर्को हेलिकोप्टर पठाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।