
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकको श्रम नवीकरण गर्ने निर्णय गरेको छ । यसले बिदामा आएका नेपालीलाई आफ्नो रोजगारदाता देशमा जाने बाटो खुलेको छ ।
पश्चिम एसियामा विकसित युद्धका कारण ती देशको श्रम नवीकरण रोकिएको थियो । श्रम मन्त्रालयले इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा कार्यरत नेपालीलाई भने श्रम नवीकरण दिने निर्णय गरेको छैन । वैदेशिक रोजगार विभागका अनुसार गत माघसम्म नयाँ र पुरानोसहित ७० हजार ५ सय ३ जनालाई रोजगारीका लागि श्रम स्वीकृति दिइएको थियो । तीमध्ये ४८ हजार २ सय २६ जनाले पश्चिम एसियाका १२ देशमा जान श्रम स्वीकृति लिएका थिए ।
नेपाली श्रमिकको प्रमुख ५ गन्तव्य मुलुकमध्ये ४ गन्तव्य खाडीका कुवेत, यूएई, साउदी र कतार हुन् । विमान सेवा नियमित नहुँदा युरोपको भिसा भएका श्रमिकले पनि उड्न पाइरहेका थिएनन् ।
१६ फागुनमा अमेरिका र इजरायलले इरानमाथि हमला थालेका थिए । लगत्तै इरानले अमेरिकी बेस क्याम्पलाई लक्षित गरी खाडीका प्रायः देशमा जवाफी हमला गर्न थालेपछि असुरक्षा बढेको थियो । फागुनमा विभागले नयाँ र पुरानो गरेर ५२ हजार जनालाई श्रम स्वीकृति दिएको छ ।
१६ फागुनसम्ममा पश्चिम एसियाका १० देशमा नयाँ भिसा पाइसकेका १४ हजार ५ सय ३६ जनालाई मात्र श्रम स्वीकृति दिइएको थियो, तीमध्ये पनि धेरैजसो उड्न पाएका छैनन् ।