हेलिकाेप्टर दुर्घटना अपडेट- घाइतेसहित पाइलटलाई अर्को हेलिकाेप्टरबाट काठमाडौं पठाइयो

चैत्र ४, २०८२ |उत्तम चौलागाईं
हेलिकाेप्टर दुर्घटना अपडेट- घाइतेसहित पाइलटलाई अर्को हेलिकाेप्टरबाट काठमाडौं पठाइयो

खोटाङ । खोटाङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको छ ।

काठमाडौंबाट ५ यात्रु बोकेर गएको एयर डाइनेस्टीको नाइन एन ए एफ क्यु कल साइनको हेलिकोप्टरको खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा दुर्घटना भएको हो । हेलिकोप्टर अवतरणका क्रममा सन्तुलन गुमाउँदा दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

बिहान ११ बजे काठमाडौंबाट उडेको हेलिकोप्टर ११ बजेर ५१ मिनेटमा अवतरणका क्रममा दुर्घटना भएको हो । दुर्घटनामा एक यात्रु सामान्य घाइते भएको जनाइएको छ । घटना हुँदा हेलिकोप्टरमा सवार काजीबहादुर राई घाइते भएका छन् । घाइते राई र पाइलट सवीन थापालाई एअर डाइनेस्टीकै हेलिकोप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

उक्त हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए । अन्य सकुशल रहेको केपिलासगढी गाउँपालिकाका अध्यक्ष समीर राईले जानकारी दिनुभयाे । दुर्घटनाको प्रारम्भिक कारण तीव्र हावा वा धुलो हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ भने सम्बन्धित निकायले अनुसन्धान सुरू गर्ने तयारी गरेको छ।

याे पनि :

खोटाङमा हेलिकाेप्टर दुर्घटना


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।