हावाहुरीपछि धनकुटामा विद्युत् आपूर्ति आंशिक रूपमा सुचारू

सदरमुकाममा भने अझै केही समय लाग्ने
चैत्र ३, २०८२ |विनोद घिमिरे
हावाहुरीपछि धनकुटामा विद्युत् आपूर्ति आंशिक रूपमा सुचारू

धनकुटा । सोमबार राति आएको शक्तिशाली हावाहुरीका कारण अवरूद्ध भएको धनकुटाको विद्युत् आपूर्ति आंशिक रूपमा सुचारू भएको छ। 

नेपाल विद्युत् प्राधिकरणको धनकुटा वितरण केन्द्रकाअनुसार भेडेटार र मूलघाटलगायतका क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आइसकेको छ। महालक्ष्मी नगरपालिकाको तल्लो भेगमा समेत आपूर्ति सुचारू गरिएको जनाइएको छ।

तर, हावाहुरीकै कारण छथर जोरपाटी क्षेत्रमा ३३ केभी प्रसारण लाइनको पोल ढल्दा सदरमुकाम धनकुटा बजारमा अझै विद्युत् सेवा अवरूद्ध रहेको छ। धनकुटा नगरपालिकाको निगालेको एकै ठाउँमा सातवटा पोल भाँचिनुका साथै त्यहाँ जडान गरिएको ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ।

धनकुटा वितरण केन्द्रका प्रमुख विजली प्रसाद यादवका अनुसार क्षतिग्रस्त पोल र ट्रान्सफर्मर पुनःस्थापना गर्ने काम तीव्र रूपमा भइरहेको छ। “मर्मत कार्य जारी छ, आज साँझसम्म सदरमुकाममा विद्युत् आपूर्ति पुनः सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छौं,” उहाँले भन्नुभयाे।

हावाहुरीबाट जिल्लाभर कति क्षति भयो भन्ने यकिन विवरण भने अझै आउन बाँकी छ। क्षतिको अवस्था मूल्यांकन गर्न सात-आठवटा टोली परिचालन गरिएको र विवरण संकलन भइरहेको यादवले जानकारी दिनुभयाे।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।