
खोटाङ । सोमबार राति वर्षासँगै आएको हावाहुरीका कारण खोटाङमा सरकारी, नीजी संघ-संस्था तथा दर्जनौं व्यक्तिका घरमा क्षति पुगेको छ ।
हावाहुरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–७ चिउरीडाँडास्थित सिर्जनशील अंग्रेजी प्राथमिक विद्यालयको छानो उढाएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मुढेस्थित सामुदायिक रेडियो हलेसी एफएमको मुख्य टावर भाँचिएको छ । टावर भाँचिएसँगै रेडियोको प्रसारण बन्द भएको छ ।
खोटाङबजारस्थित खानेपानीको फिल्टर मेसिनमा क्षति पुगेको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकस्थित कमेरेगाँउका केशव प्रसाद पराजुलीको घरको छाना उढाएको छ । सोही ठाँउका रमेश श्रेष्ठ र कुमार श्रेष्ठको घरको छानो हावाहुरीले उढाएको छ ।दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ स्थित सुनसरी राई, वडा नम्बर–३ बाम्राङस्थित पदम बहादुर कटुवाल, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित हितमान परियार, कुमार ढकालको घरको छानो उढाएको छ ।
यस्तै, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित कुमार कामी, मेघे सार्की, मनोज ढकाल, वडा नम्बर–४ खाल्लेस्थित सुगम गदाल, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित छविलाल सार्की, कमल बहादुर सार्की, मान बहादुर सार्कीको घरको छानो उढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभयाे ।
हलेसी तुवाचुङ नगरपालिकाको जयरामघाट, च्यास्मिटारलगायतको क्षेत्रमा र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको विभिन्न क्षेत्रमा करिब २६ वटाभन्दा बढी घरमा क्षति भएको जानकारी आए पनि विवरण भने आइनसकेको बुढाथोकीको भनाइ छ । हावाहुरीका कारण विद्युत् तथा इन्टरनेटमा समस्या आएका कारण जिल्लाभर भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको बुढाथोकीले बताउनुभयाे । हावाहुरीका कारण करोडौंको क्षति भएको अनुमान गरिएको छ ।