भीषण हावाहुरीका कारण भोजपुरमा भौतिक संरचनामा क्षति

चैत्र ३, २०८२ |अर्जुन बस्नेत
भीषण हावाहुरीका कारण भोजपुरमा भौतिक संरचनामा क्षति

भोजपुर । जिल्लामा भीषण हावाहुरीका कारण भौतिक संरचनाहरूमा क्षति पुगेको छ । 

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसारका हावाहुरीका कारण स्थानीयका घर र विद्यालयका संरचनाहरूमा बढी क्षति पुगेको छ । भोजपुरमा व्यक्ति तथा सरकारी संरचनाहरूमा क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक राजु लामाले बताउनुभयाे ।

हावाहुरीका कारण साल्पासिलिछो गाउँपालिका वडा नम्बर ५, माथिल्लो फेदीस्थित चन्द्रावती आधारभूत विद्यालय भवनको छानो उडाएको छ । यस्तै आमचोक गाउँपालिका-६ मा रहेको मकालु प्राविको रूख ढलेर छानामा क्षति पुगेको प्रहरीले जनाएको छ ।

हावाहुरीका कारण आमचोक गाउँपालिका वडा नम्बर ६, बोयाङमा रहेको चोमोलुङ्मा एफएमको टावर ढलेको छ । जिल्ला प्रहरीका कार्यालयका अनुसार जिल्लाका अधिकांश स्थानहरूमा हावाहुरीले घरका छानाहरू उडाएको छ । हावाहुरीका कारण ढुङ्गामाटो तथा फुसका छाना भएका घरहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

वर्षासँगैको चट्याङले दुई दिन अगाडि भोजपुरको षडानन्द नगरपालिका–९ भैसेमा २५ वर्षीया शर्मिला तामाङको मृत्यु भएको थियो भने जिल्लाको साल्पासिलिछो गाउँपालिका–५ सोहोरामा हावाहुरीका रूखसँगै झरेको ढुंगा लागेर भोजपुर नगरपालिकाका ३० वर्षीय आशिष तामाङको घटनास्थलमै मृत्यु भएको थियो ।

जिल्लाको सबै विवरण संकलन गर्ने कार्य भई रहेको प्रहरी प्रमुख प्रनाउ लामाले जानकारी दिनुभयो । प्रहरी र स्थानीय तहका प्रतिनिधिहरू घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गरी रहेका छन् ।


Image

अर्जुन बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजन भोजपुर संवाददाता हुन् ।