समानुपातिकमा आफन्त र पुरानै नेताको निरन्तरता

चैत्र २, २०८२ |अञ्जना लामिछाने
समानुपातिकमा आफन्त र पुरानै नेताको निरन्तरता

काठमाडौं । जेन-जी आन्दोलनको जगमा भएको निर्वाचनबाट कांग्रेस, एमाले, नेकपासहितका पुराना दल नराम्रोसँग पराजित भए । 

मतदाताले स्पष्ट सन्देश दिए- अब दलहरू सच्चिनुपर्छ । तर यी दलले समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको सूची हेर्दा दलहरूमा पूरानै प्रवृत्ति कायमै रहेको देखियो । अर्थात् दलहरूले पटक-पटक मन्त्री र सांसद हुने अवसर पाएका, नेताका आफन्त र आफ्ना बफादार नेताहरूलाई नै अवसर दिएर पठाएका छन् । समग्रमा यसपटक प्रतिनिधि सभाका २ सय ७५ मध्ये ८२ प्रतिशत सांसद नयाँ हुनेछन् ।

प्रतिनिधि सभाको निर्वाचनमा यसपटक मतदाताले रास्वपालाई झन्डै दुई तिहाइ जनादेश दिँदा पुराना दललाई सक्किने कि सच्चिने भन्ने ठाउँमा पुर्याइदिएका छन् ।  यति हुँदा पनि कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी पाठ सिक्ने पक्षमा देखिएका छैनन्, समानुपातिकतर्फ बन्द सूचीको पहिलो नम्बरमा पटक-पटक अवसर पाएका, आफन्त र नजिकका नेताको राखेर नाम बुझाए ।

बन्दसूची बुझाउँदा नै विरोध भए पनि पटक-पटक अवसर पाएका नेताको नाम फिर्ता लिन दलहरूले चाहेनन् । कांग्रेसबाट पटक-पटक मन्त्री र सांसद बन्नुभएका अर्जुननरसिंह केसीलाई खस आर्य कोटाको पहिलो नम्बरमा राखिएकोमा पार्टीमै विरोध हुँदा पनि कांग्रेसले नाम फिर्ता लिएन । 

४८ पछिका सबै निर्वाचनमा उम्मेदवार बन्नुभएका केसीले अहिले फेरि समानुपातिक सूचीबाट सांसद बन्ने अवसर पाउनुभएको छ । यस्तै पूर्वराष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादव पनि यसपटक समानुपातिक सांसद बन्नुभएको छ । उहाँ संविधानसभा सदस्य पनि हुनुहुन्छ । 

यता नेता बलबहादुर केसीकी पत्नी रिना उप्रेती र नेता विमलेन्द्र निधिको भाञ्जी नीनुकुमारी कर्णले पनि सांसद बन्ने अवसर पाए । कांग्रेस मात्र होइन एमालेले पनि पटक-पटक अवसर पाएका र नेता निकटलाई नै संसद्‍मा पुर्याएको छ । समानुपतिकको १६ सिटमा खुम्चिएको एमालेले उपाध्यक्ष रामबहादुर थापा, सचिव पद्मा अर्याल, गुरू बराल तथा टुक्का हमाललाई समानुपातिक सांसद बनाएको छ । 

यी सबै पटक-पटक मन्त्री र सांसद बन्ने अवसर पाउनेमा पर्छन् । अर्को पुरानो दल नेकपाले पनि निर्वाचनमा युवाहरूको बर्चस्व देख्दादेख्दै पाका र अवसर पाएकालाई नै समानुपातिक सांसद बनाएको छ । ८ सिटमा झरेको नेकपाले पाका प्रमेश हमाललाई सांसद बनाउने निर्णय गरेर निर्वाचन आयोगमा नाम पठाएको छ भने नेता देवेन्द्र पौडेलकी श्रीमती बलाबति शर्मालाई अवसर दिएको छ ।

नयाँ शक्तिको रूपमा देशभर चुनाव जितेको रास्वपामा भने फरक दृश्य समानुपातिकमा देखिएको छ । उसले ५७ सिट पाएकामा अधिकांश नयाँ अनुहारले अवसर पाएका छन् । संघीय संसद्को दुवै सदनमा महिलाहरूको उपस्थिति ३३ प्रतिशत हुनुपर्ने प्रावधानका कारण अन्य क्लस्टरका व्यक्तिहरू भने छुट्न पुगेका छन् ।

दलहरूले आयोगमा बुझाइसकेको बन्द सूची तत्काल सच्याउन सक्ने अवस्था त छैन, तर निर्वाचित भइसकेपछि सम्बन्धित दलले राजीनामा दिन लगाएर बन्द सूचीबाट नाम फिर्ता गराएपछि सूचीमा भएका अन्यले भने अवसर पाउनेछन् । समग्रमा यसपटकको संसद्‍मा नयाँ अनुहारको भने बाहुल्य रहनेछ । २ सय ७५ सांसदमध्ये प्रत्यक्षतर्फ १ सय ३७ र समानुपातिकतर्फ ९१ गरी २ सय २८ सांसद पहिलो पटक संसद प्रवेश गर्दैछन् ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।