पश्चिम एसिया तनावले दिनहुँ महँगिँदै नेपाली बजार, तत्काल युद्ध नरोकिए ९ प्रतिशतसम्म मूल्यवृद्धि हुनसक्ने

अर्थतन्त्रमा नकारात्मक असरको जोखिम
चैत्र २, २०८२ |सुदिल पोखरेल
पश्चिम एसिया तनावले दिनहुँ महँगिँदै नेपाली बजार, तत्काल युद्ध नरोकिए ९ प्रतिशतसम्म मूल्यवृद्धि हुनसक्ने

काठमाडौं । विश्वबजारमा देखिएको ऊर्जा संकटसँगै नेपालमा समेत पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुादा समग्र वस्तु तथा सेवा महंगिँदै जाने देखिएको छ । 

ढुवानीदेखि उत्पादन लागतसमेत वृद्धि हुँदा सर्वसाधारणको भान्सा झनै महंगो हुने र देशको अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखिएको छ । तत्काल युद्ध नरोकिए पेट्रोलियम पदार्थ ८ देखि ९ प्रतिशतसम्म बढ्नसक्ने अर्थविद्हरूको आकलन छ ।

पश्चिम एसियामा बढेको तनावका कारण विश्वभर इन्धन संकट र मूल्यवृद्धि भइरहेका बेला नेपाल आयल निगमले पनि आइतबार साँझ पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्‍यो, जसअनुसार पेट्रोलमा प्रतिलिटर १५ र डिजल तथा मटि्टतेलमा १० रूपैयाँ बढाइयो । यो वृद्धिले नेपालमा ह्वात्तै बढ्ने देखिएको छ । 

ढुवानी भाडामा बृद्धि हुँदा दाल, तेल, चामलसँगै तेलको मूल्य बढाउने जोखिम हुन्छ । विश्वबजारमा उत्पादन हुने रासायनिक मलमध्ये एक तिहाइ पश्चिम एसियामा हुने भएकाले अहिलेको युद्धले रासायनिक मलको उत्पादन र आपूर्तिमा समेत प्रभाव पर्ने देखिएको छ । युद्ध लम्बिए आगामी दिनमा तरकारी तथा स्वदेशी खाद्यान्नसमेत महंगिनेछ । युद्ध तत्काल नरोकिए उपभोक्ता मूल्य ८ देखि ९ प्रतिशतसम्म बढ्न सक्ने अर्थविद्हरूको आकलन छ।

अन्तर्राष्ट्रिय मुद्राकोषको अध्ययनअनुसार तेलको मूल्य प्रतिब्यारेल १० डलर बढ्दामात्रै पनि विश्व अर्थतन्त्रमै असर पर्छ र शून्य दशमलव एक-पाँच प्रतिशतले अर्थतन्त्र घट्छ । र, संसारभर महगी शुन्य दशमलव चार प्रतिशत विन्दुले बढने कोषको तथ्यांक छ । 

तेलको मूल्य प्रतिब्यारेल एक सय डलरमाथि गयो भने महंगी विश्वभर नै १ दशलमव दुई प्रतिशत विन्दुले बढ्छ भने अर्थतन्त्र शून्य दशमलब चार प्रतिशतले घट्छ । अब यो हामीमा पनि यही स्थिति लागू हुन्छ । अब नेपालमा पनि कुल गार्हस्थ उत्पादन-जीडीपी घट्ने र मूल्य बढ्ने जोखिम देखिएको छ ।

नेपालको महंगीमा आधा हिस्सा आयातित सामानको हुने हुनाले यहाँ महंगी सीमामा राख्न कठिन छ । त्यसका कारण कर्मचारी तथा मजदुरलाई महंगी भत्ता दिएमात्रै जीवन कष्टकर बन्नबाट रोक्न सकिने विज्ञ बताउँछन् । अहिले अन्तर्राष्ट्रिय ढुवानीलागत मात्रै बढेको छैन, त्यसको बिमाको समेत रकम बढेको छ । 

जसका कारण आयातित वस्तु र पेट्रोलियम पदार्थको मूल्य बढ्ने नै देखिन्छ । अब ग्यासको सट्टा बिजुलीमा खाना पकाउने तथा उपभोगमा कमी ल्याएमात्रै बढ्दै गरेको महंगीको जोखिम केही कम गर्न सकिन्छ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।