धनकुटामा वन डढेलोका कारण बर्सेनि करिब १५ करोड रुपैयाँ बराबरको क्षति

चैत्र १, २०८२ |विनोद घिमिरे
धनकुटामा वन डढेलोका कारण बर्सेनि करिब १५ करोड रुपैयाँ बराबरको क्षति

धनकुटा । धनकुटामा वन डढेलोका कारण बर्सेनि करिब १५ करोड रूपैयाँ बराबरको क्षति हुने गरेको तथ्य सार्वजनिक भएको छ । 

‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नारासहित डिभिजन वन कार्यालय धनकुटाले सुर" गरेको वन डढेलो नियन्त्रण तथा प्रज्वलनशील पदार्थ व्यवस्थापन सप्ताहको अवसरमा धनकुटामा आयोजित छलफल कार्यक्रममा यस्तो तथ्य सार्वजनिक गरिएको हो । 

सीमित स्रोत–साधन र कमजोर व्यवस्थापन क्षमताका कारण वन डढेलो नियन्त्रण तथा न्यूनीकरणमा प्रभावकारी काम हुन नसकेको डिभिजन वन कार्यालयले जनाएको छ । धनकुटामा हाल ३ सय ८७ वटा सामुदायिक वन रहेका छन् । तीमध्ये अरूण र तमोर नदी करिडोर आसपासका क्षेत्र आगलागीको उच्च जोखिममा पर्ने गरेका छन् । 

धनकुटाका एकसय भन्दा बढी सामुदायिक वन बर्षेनि आगलागीको चपेटामा पर्दै आएका छन् । आगलागीका कारण काठ, बिरूवा, पानीका स्रोत, वन्यजन्तु र समग्र पर्यावरणमा ठूलो क्षति पुगिरहेको सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष नीलबहादुर थापाले बताउनु भयो ।

डिभिजन वन कार्यालय धनकुटाका प्रमुख सञ्जीवराज ढकालले सीमित स्रोतसाधन र जनशक्तिका कारण वन डढेलो नियन्त्रण तथा त्यसबाट हुने क्षति कम गर्न कठिनाइ भइरहेको बताउनु भयो । सचेतना र तालिम सञ्चालन गरिए पनि नियन्त्रणका लागि आवश्यक उपकरण, जनशक्ति, पर्याप्त समन्वय नहुँदा ढडेलो नियन्त्रण प्रभावकारी बनाउन नसकिएको उहाँले बताउनु भयो । 

राज्यले कार्बन व्यापारसम्बन्धी नीति लिएका कारण अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताले पनि वन स्रोतको उपयोगमा केही सीमितता सिर्जना गरेको उहाँले बताउनु भयो । कार्यक्रममा सहभागी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले संभावित जोखिम न्यूनीकरण, रोकथाम, नियन्त्रणका लागि सरकार र समुदायसँग आवश्यक यन्त्र उपकरण, योजना र पर्‍याप्त पूर्व तयारी अभाव रहेको बताएका छन् ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।