
पाल्पा । चार वर्षअघिसम्म मुस्किलले दुई बाली लगाउने पाल्पाको तिनाउ गाउँपालिका १, कचल फाँटका बासिन्दा आजभोलि सहजै तीन बाली खेती गर्छन् ।
करिब चार दशकदेखि अलपत्र सिँचाइ योजना सम्पन्न भएपछि परम्परागत धान, मकै, तोरी, गहुँ र आलुलगायत खेती गरेर राम्रो उत्पादन लिन थालेका हुन् । यहाँका तीन सयभन्दा बढी घर परिवारले गाउँलाई कृषि पकेट क्षेत्र र उत्पादित कृषि उपजको बजार व्यवस्थापनमा भने सहयोग गर्न माग गरेका छन् ।
सिँचाइको असुविधाका कारण वर्षमा एक बाली मात्र खेती गर्ने किसानले अहिले वर्षभरि नै खेतबारी हरियो बनाएका छन् । सिँचाइ सुविधा पाएपछि व्यावसायिक तरकारी खेतीका साथै धान, मकै, गहुँ, मसुरो र तोरीलगायतको राम्रो उत्पादन हुन थालेको छ ।
गाउँ हराभरा भएपछि पछिल्लो तीन वर्षयता अस्थायी रूपमा बसाइँ सरेर जाने स्थानीय कम भएका छन् । यहाँबाट पछिल्लो तीन वर्षमा ११ घर बसाइँ सर्दा ६० घर परिवार भित्रिएका छन् । सिँचाइ सुविधा पाएपछि अधिकांश किसानको जीवनस्तरमै परिवर्तन आउन थालेको भए पनि व्यावसायिक बन्न नसक्दा चिन्तित छन् ।
२०३९ सालमा दरबारको तोकआदेशबाट कचल फाँटमा सिँचाइ योजना निर्माण सुरू भए पनि ३९ वर्षपछि सम्पन्न भएको हो । अहिले सबैका खेतबारीमा प्रसस्त अन्न उत्पादन हुन थालेसँगै कृषिका लागि व्यवस्थित, व्यावसायिक र पकेट क्षेत्र बनाउन स्थानीय, प्रदेश र सघीय सरकारसमक्ष आग्रह गरेका छन् ।
यहाँ व्यावसायिक रूपमा तरकारी तथा अन्य अन्नबाली उत्पादन गर्न सके सबैको जीवनस्तर उकास्न सकिने राजनीतिक दलका नेताहरूले धेरै अघिदेखि भाषण नगरेका होइनन् । अझ यो सिँचाइ योजना सम्पन्न गराउन प्रायः सबै दलले जस लिने होड पनि चलेकै छ ।
२०३९ सालमा तत्कालीन राजा वीरेन्द्र भ्रमणमा आएका बेला स्थानीयले कचल फाँटमा सिँचाइ कुलोको माग गरेका थिए । स्थानीयको मागअनुसार तत्कालीन राजाको हुकुममा तीन करोड बजेट विनियोजन भएर २०४८ सम्म काम भए पनि त्यसपछि आयोजना अलपत्र परेको थियो । ६ हजार रोपनी जग्गा सिँचाइ हुनेगरी निर्माण भएको योजना आर्थिक वर्ष २०७३/०७४ मा १३ करोड ९५ लाख बजेट विनियोजन भएर २०७८ सालमा निर्माण सम्पन्न भएको हो ।