निर्वाचन आयोगको निर्देशन बावजुद उम्मेदवारहरूले सार्वजनिक गरेनन् सामाजिक सञ्जालमा भएको खर्च

फाल्गुन ३०, २०८२ |अञ्जना लामिछाने
निर्वाचन आयोगको निर्देशन बावजुद उम्मेदवारहरूले सार्वजनिक गरेनन् सामाजिक सञ्जालमा भएको खर्च

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारहरू धमाधम चुनावी खर्च सार्वजनिक गरिरहेका छन् । तर, सबै उम्मेदवारका खर्च विवरण भने पारदर्शी छैन ।

निर्वाचन आयोगले सामाजिक सञ्जालबाट हुने खर्च पनि निर्वाचन खर्चमै जोडिने भन्दै पटक पटक भने पनि उम्मेदवारहरूले त्यसलाई उल्लेख नै गरेका छैनन् । जबकि उम्मेदवारहरूले लाखौँ रूपैयाँ सामाजिक सञ्जाल प्रचारमै खर्चेको देखिन्छ ।

पछिल्लो ३ महिनामा २ सय ३ फेसबुक पेजबाट २५ हजार ९ सय ८४ वटा चुनाव प्रचारसम्बन्धी सामग्री बुस्ट गरिएको छ । यी प्रचार सामग्रीका लागि दल तथा उम्मेदवारहरूले १ लाख ५ हजार ८ सय ४० अमेरिकी डलर खर्च गरेका छन् । यो भनेको आजको विनिमय दरअनुसार १ करोड ५६ लाख ५१ हजार २ सय ६९ रूपैयाँ हो ।

तर, सुन्दा अचम्म लाग्नसक्छ, उम्मेदवारहरूले यो पैसालाई आफ्नो निर्वाचन खर्चमा जोडेकै छैनन् । निर्वाचन आयोगले सामाजिक सञ्जालबाट हुने प्रचार खर्चलाई चुनावी खर्च शीर्षकमै राख्न ताकेता गरे पनि उम्मेदवारहरूले नसुनेझैँ गरिरहेका छन् । आयोग पनि नदेखेझैँ गरिरहेको छ ।

उदाहरणका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको निर्वाचन प्रचारका लागि प्राइममिनिस्टर बालेन नामको फेसबुक पेजबाट ५ वटा कन्टेन्ट बुस्ट गरिएको छ । जसका लागि १ सय ५८ अमेरिकी डलर खर्च गरिएको छ । बालेन्द्रलाई जिताउनका लागि अन्य पेजबाट पनि डलर खर्चेर प्रचार गरिएको छ । तर, उहाँको चुनावी खर्च विवरणमा सामाजिक सञ्जाल खर्च राखिएको छैन ।

यस्तै रास्वपाकै वरिष्ठ उपाध्यक्ष स्वर्णिम वाग्लेको समर्थक फेसबुक पेजबाट १० वटा कन्टेन्ट प्रचार गरिएको छ । जसबापत १ सय १० डलर खर्च भएको देखिएको छ । उहाँको खर्च विवरणमा यो समावेश छैन । तर, रास्वपाकै उपसभापति डीपी अर्यालले चाहिँ सामाजिक सञ्जालबाट भएको प्रचार खर्च जोड्नुभएको छ । 

उहाँले छापा, विद्युतीय माध्यम विज्ञापनमा ७५ हजार खर्च भएको उल्लेख गर्नुभएको छ । यस्तै आयोगले उपलब्ध गराएको मेटा एड्स लाइब्रेरीको तथ्यांकअनुसार अर्यालले फेसबुक बुस्टिङमा ३ सय ३२ डलर खर्च गरेको देखिन्छ । पछिल्लो तीन महिनाको अवधिमा निर्वाचन प्रयोजनका लागि सबैभन्दा बढी पैसा खर्चने फेसबुक पेज माइ भ्वाइस काउन्ट्स हो । 

यसले ४ हजार ४ सय २३ डलर खर्च गरेको छ । यस्तै दोस्रोमा डा. अजयक्रान्ति फलोअर्स नामको पेजले ४ हजार ४३ डलर खर्च गरेको छ । यो भनेको ५ लाख ९७ हजार ६१ नेपाली रूपैयाँ हो । यो पेजले काठमाडौं ९ का एमाले उम्मेदवार अजयक्रान्ति शाक्यको प्रचार गरेको भेटिन्छ । शाक्यले पाएको ४ हजार ५ सय ८० मतलाई भागा गरेर हेर्दा उहाँले एक भोटका लागि फेसबुकमा मात्र १ सय ३० रूपैयाँ खर्च गर्नुभएको देखिन्छ । तर, शाक्यको लगानी खेर गयो ।

यस्तै साझा पार्टी नामको पेजले ३ हजार १ सय डलर खर्च गरेको छ । विजयी उम्मेदवारहरूमा सबैभन्दा धेरै खर्च गर्नेमा एमालेका छितिज थेवे छन् । थेवेले दुईवटा पेजमार्फत ४ हजार ६ सय ८४ डलर खर्च गर्नुभएको छ । यो भनेको ६ लाख ९१ हजार ७ सय २२ रूपैयाँ हो । अर्थात् थेवेले प्राप्त गरेको १३ हजार ९ सय ६२ मतलाई आधार मान्दा एक भोटका लागि उहाँले करिब ५० रूपैयाँ खर्च गर्नुभएको देखिन्छ ।

यसपालि निर्वाचनमा २ हजार डलरभन्दा बढी खर्च गर्ने १० वटा पेज छन् । यस्तै १२ पेजले १ हजार डलरभन्दा बढी खर्च गरेको पाइएको छ । पाँच सय डलरभन्दा बढी खर्च गर्नेमा ३१ पेज हुँदा चार सयभन्दा बढी खर्च गर्नेमा १३, तीन सयभन्दा बढी खर्च गर्ने २१, दुई सयभन्दा बढी ३८ र एक सयभन्दा बढी खर्च गर्नेमा ७७ वटा फेसबुक पेज छन् ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।