
काठमाडौँ । नयाँ निर्वाचनमार्फत चुनिएको प्रतिनिधिसभाले आजदेखि औपचारिक रूपमा काम सुरु गरेको छ । जेन-जी आन्दोलनको जगमा फागुन २१ गते सम्पन्न निर्वाचनपछि आज संसद्को पहिलो संयुक्त बैठक बसेको हो ।
बैठकमा सभामुखको निर्वाचन गर्नेदेखि निर्वाचन र मतदातासम्बन्धी तथा विशेष सेवा अध्यादेश पेस भएका छन् । संसद्को पहिलो बैठकमा सांसदहरूको उपस्थिति र हाउभाउ पनि विशेष देखियो । नेपालको संसदीय इतिहासमै नयाँ र फरक अभ्यास आजको बैठकमा देखिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदायमाथि राज्यबाट विभेद भएको भन्दै संसद्बाटै माफी माग्नुभएको थियो ।
प्रतिनिधिसभाको पहिलो बैठकको सुरुमै नेकपा एमालेले सरकारको विरोध गरेको थियो भने दलीय हिसाबले मन्तव्य राख्दा पनि एमालेले कटाक्ष गरेको थियो । जम्मा ६ दलका र एक स्वतन्त्र सांसद रहेको प्रतिनिधिसभा बैठकमा रास्वपा सभापतिले आफूले पाएको भन्दा आधा समय कम बोल्नुभएको थियो । दलीय रूपमा बोल्ने सांसदहरूले समयको सदुपयोगदेखि अमेरिकासँगको एमसीसी खारेज र प्रदेश संरचना खारेजसम्मका माग गरे । विपक्षी आक्रामक देखिँदा सत्ता पक्ष रास्वपा नरमरूपमा प्रस्तुत भएको थियो ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको हाउभाउ र टिसर्टमाथि कोटसहितको पोसाकले सांसदहरूकै ध्यान तानेको थियो । बैठकलगत्तै प्रधानमन्त्री शाह र श्रम संस्कृति पार्टीका अध्यक्ष सम्पाङबीचको अंकमाल र संवाद पनि अर्थपूर्ण थियो ।