
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिएका ५७ मध्ये रास्वपाले एक्लै ४५ प्रतिशतभन्दा बढी मत पाउँदा ५१ दल ३ प्रतिशतको थ्रेसहोल्डसमेत कटाउन असफल भएका छन् ।
निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले थ्रेसहोल्ड कटाउँदा अन्य दल थ्रेसहोल्ड कटाउन असफल भएका हुन् । समानुपातिकतर्फ १ करोड ९ लाख ७७ हजार मत खसेकोमा हालसम्म घोषित मतपरिणामअनुसार रास्वपाले ५१ लाख ८१ हजार ३ सय ३० मत ल्याएको छ ।
त्यस्तै नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९ सय ३, नेकपा एमालेले १४ लाख ५६ हजार ६ सय ६९ र नेकपाले ८ लाख ११ हजार ३ सय ९३ मत पाएको छ । श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ८ सय ५२, राप्रपाले ३ लाख ३० हजार ६ सय ४९ र जनता समाजवादी पार्टीले १ लाख ८१ हजार ८ सय ५० मत पाएका छन् ।
समानुपातिक मत गणना सकिएसँगै कुल १ सय १० मध्ये राजनीतिक दलहरुले पाउने सिट संख्याको पनि लगभग टुंगो लागेको छ । जसअनुसार रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपाले ४ सिट पाउने भएका छन्। यद्यपि निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्न बाँकी छ ।
यससँगै समानुपातिकमा सिट पाएका ६ दलले मात्र यसपटक राष्ट्रिय दलको मान्यता पाउने भएका छन्, जसमा श्रम संस्कृति पार्टीले पहिलोपटक संसदीय निर्वाचन लडेको हो । राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्ष निर्वाचनमा कम्तिमा एक सिट जित्नुपर्ने र समानुपातिकमा ३ प्रतिशत मत कटाउनुपर्ने व्यवस्था छ ।
तर जनता समाजवादी पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा नेपाल मजदूर पार्टीलगायतले समानुपातिकमा मत पाए पनि ३ प्रतिशतको थ्रेसहोल्ड कटाएनन् । मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट संख्या निर्धारणको गृहकार्य पनि सुरु भएको निर्वाचन आयोगले जनाएको छ । केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने जनाइएको छ ।