धनकुटामा ग्रामीण किसानका लागि माहुरीपालन व्यवसाय बन्यो आम्दानीको माध्यम

वैदेशिक रोजगारीबाट फर्किएदेखि स्थानीयसम्म आकर्षित
फाल्गुन २७, २०८२ |विनोद घिमिरे
धनकुटामा ग्रामीण किसानका लागि माहुरीपालन व्यवसाय बन्यो आम्दानीको माध्यम

धनकुटा । धनकुटामा ग्रामिण किसानका लागि माहुरी पालन व्यवसाय आम्दानीको माध्यम बनेको छ। 

वैदेशिक रोजगारीबाट फर्किएका युवादेखि स्थानीय किसानसम्म मौरिपालनतर्फ आकर्षित भइरहेका छन्। माहुरी पालक किसानको संख्यासँगै मह उत्पादन पनि बढ्दो छ। धनकुटामा वार्षिक २९ मेट्रिक टन मह उत्पादन हुँदै आएको छ।

धनकुटा पाख्रिबास नगरपालिका ९ का शुक्रबहादुर राई केही वर्षअघि वैदेशिक रोजगारीबाट फर्कनुभयो। गाउँमै कुनै व्यवसाय गरौं भन्ने सोचबाट उहाँले माहुरीपालन सुरू गर्नुभयो। केही घार माहुरीबाट सुरू भएको यो पेसा अहिले आम्दानीको मुख्य माध्यम बनेको छ। 

उत्पादित महको प्रसस्त माग छ । बिक्रिमा कुनै समस्या छैन्। मह र नया गोला बिक्रिबाट राम्रो आम्दानी भइरहेको उहाँको भनाइ छ ।

माहुरीपालक किसान पाख्रिबास ९ धनकुटा

शुक्रबहादुर जस्तै धनकुटाका धेरै किसान माहुरीपालन व्यवसायतर्फ आकर्षित भइरहेका छन्। वैदेशिक रोजगारीबाट फर्किएका युवादेखि परम्परागत कृषिमा आवद्ध किसानले पनि यो पेसा अंगाल्दै छन्। धनकुटामा ४ हजार ४ सय आधुनिक र करिब ७ हजार ५ सय माहुरीका परम्परागत घार हरेको कृषि ज्ञानकेन्द्र धनकुटाले जनाएको छ। 

धनकुटाको पहाडी भूगोलमा पाइने चिउरी, धुसुरे र धागेरो लगायतका वनस्पती माहुरीपालनका लागि उपयुक्त हुने कृषि प्राविधिकहरू बताउँछन्। धनकुटामा भइरहेको माहुरी पालनबाट वार्षिक २९ मेट्रिकटन मह उत्पादन हुने कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ। 

माहुरीको गोला र महको वार्षिक ४ करोड रूपैयाँको कारोबार हुने तथ्याङ्क छ। उपयुक्त वातावरण, बढ्दो बजार र कम लगानीमै राम्रो आम्दानी हुने भएकाले कृषिका क्षेत्रमा काम गर्ने निकायले माहुरी पालन व्यवसायलाई थप विस्तार र सुदृढ गर्न किसानलाई मद्दत गर्नु पर्ने देखिन्छ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।