वन पर्यटनले बदल्दै तेह्रथुम : स्थानीयलाई रोजगारी र संस्कृतिलाई संरक्षण

फाल्गुन २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
वन पर्यटनले बदल्दै तेह्रथुम : स्थानीयलाई रोजगारी र संस्कृतिलाई संरक्षण

तेह्रथुम । वन क्षेत्रमा आधारित पर्यटन व्यवसाय स्थानीय समुदायका लागि दिगो विकासको महत्वपूर्ण माध्यम बन्दै गएको छ। 

वन, वन्यजन्तु, जैविक विविधता, प्राकृतिक दृश्य र स्थानीय संस्कृति-परम्परामा आधारित घुमघाम, अवलोकन र अनुभवमूलक गतिविधिमा आधारित भएर फस्टाइरहेको पर्यटन व्यवसाय तेह्रथुमका गाउँदेखि सहरसम्मका स्थानीयलाई आयआर्जन र जीविकोपार्जनको महत्वपूर्ण आधार बन्दै गएको छ।

जंगल सफारी, चरा र जंगली जनावर अवलोकन, प्रकृति पदयात्रा, सामुदायिक होमस्टे, वन्यजन्तु फोटोग्राफी, जंगली सौन्दर्यको अवलोकन, जडीबुटी तथा वनस्पति अध्ययन जस्ता गतिविधिले तेह्रथुममा पर्यटनको नयाँ ढोका खुलेको छ । आन्तरिक तथा बाह्य पर्यटकले प्रकृतिसँग नजिकिएर धेरै प्रकारका अनुभव लिने अवसर पाउने भएकाले पनि पर्यटक वन अर्थात जंगलमा आधारित घुमघामका लागि निस्किन मन पराउने गरेका छन् ।

वनमा आधारित पर्यटनले यहाँका बासिन्दालाई गाइड, होटल, लज तथा होमस्टे सञ्चालन, हस्तकलाका सामान बिक्री, सवारीसाधन, घोडा सफारी, सांस्कृतिक कार्यक्रमको प्रस्तुती, साना तथा मझौला पसल सञ्चालनलगायत क्षेत्रमा रोजगारी सिर्जना गरेको छ । वनमा आधारित पर्यटन व्यवसायबाट विशेषगरी सामुदायिक वन क्षेत्र वरपर बसोबास गर्ने समुदाय प्रत्यक्ष लाभान्वित भएका छन् ।

पर्यटनबाट उठेको आम्दानी स्थानीयले विद्यालय, आर्थिक अवस्था कमजोर भएका विरामीको स्वास्थ्य उपचार, सामुदायिक भवन, साना उद्योग स्थापना, ग्रामीण सडक तथा खानेपानी जस्ता पूर्वाधार विकासका सामाजिक काममा लगानी गरिरहेका छन् । वनमा आधारित पर्यटन व्यवसायले गति लिँदै जाँदा स्थानीयस्तरमा महिला तथा युवाको सक्रिय सहभागिता बढेको छ । 

जसले गर्दा उनीहरूमा आत्मनिर्भरता र नेतृत्व विकासमा ठूलो टेवा पुर्‍याएको छ । वन पर्यटनमा जोडिएर प्रत्यक्ष आम्दानी गर्न थालेपछि सिंगो समुदाय वन जंगलमा भइरहेको चोरी सिकार, अवैध कटानी जस्ता गतिविधि न्यूनीकरणमा लागेका छन् । लिम्बु, तामाङ, गुरुङ, राई, मगरलगायतका समुदायले आफ्ना सांस्कृतिक नाचगान, परम्परा र जीवनशैली पर्यटनसाग जोडेर आयआर्जन गरिरहेका छन् । 

यसले गर्दा लोप हुँदै गरेको सांस्कृतिक र पराम्परा संरक्षणमा समेत योगदान पुर्‍याएको छ । वनमा आधारित पर्यटन केवल घुमघामको माध्यम मात्र नभइ स्थानीय आर्थिक विकास, सामाजिक सशक्तिकरण र वातावरण संरक्षणको उत्कृष्ट मोडल हो । उचित व्यवस्थापन र समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्नसके तेह्रथुमसहित समग्र नेपालमा वनमा आधारित पर्यटन दीगो समृद्धिको महत्वपूर्ण आधार बन्न सक्ने बलियो सम्भावना छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.