काठमाडौं । जेन-जी आन्दोलनको जगमा भएको निर्वाचन परिणामले संसद्मा युवा पुस्ताको उपस्थिति बलियो देखिएको छ ।
नयाँ संसद्मा ३० देखि ४० वर्ष उमेर समूहका ५६ सांसदहरू पुगेका छन् । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा अधिकांश युवा सहभागी थिए । त्यो आन्दोलनमा पुराना राजनीतिक दल तथा वर्षौंदेखि पदमा रहेर पनि जनआकांक्षा पूरा गर्न नसक्नेहरूप्रति उनीहरूको असन्तुष्टि रहेको थियो ।
यो असन्तुष्टि भदौ २३ र २४ गते सडक आन्दोलनमा मात्रै सीमित नभएर हालै सम्पन्न निर्वाचनमा समेत देखिएको छ । निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम आइसक्दा पुराना दल बढारिएका मात्र छैनन्, यसअघि वर्षाैं सत्ता र शक्तिको केन्द्रमा रहेकाहरू समेत जनमतमार्फत अस्विकृत भएका छन् ।
निर्वाचनको मत परिणामअनुसार सबैभन्दा बढी मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीमा ४० देखि ५० उमेर समुहको उपस्थिति बलियो छ । अबको संसद्मा रास्वपाबाट प्रतिनिधित्व गर्ने यो उमेर समूहको संख्या ४३ रहेको छ । यस्तै अन्य दलसहित रास्वपाका ४० देखि ५० वर्ष उमेर समूहका सांसद भने ५६ जना रहनेछन् ।
रास्वपामै प्रशान्त उप्रेतीले सबैभन्दा कम उमेर समूहको प्रतिनिधित्व गर्नुभएको छ । उप्रेतीसँगै ८ जनाले ३० वर्षमुनि उमेर समूहको प्रतिनिधित्व गर्दैछन् । ३० वर्षमुनिका यस्ता ८ सांसदमध्ये आरेन राईले श्रम संस्कति पार्टीको प्रतिनिनिधित्व गर्दा बाँकी सात जनाले रास्वपाकै प्रतिनिधित्व गर्छन् ।
यस्तै ६० वर्षभन्दा माथि उमेर समूहका सांसदको संख्या १२ रहेको छ । मनाङबाट निर्वाचित भएका नेपाली कांग्रेसका टेकबहादुर गुरूङले यो संसद्मा प्रत्यक्षतर्फ सबैभन्दा बढी उमेर समूहको प्रतिनिधित्व गर्नुभएको छ । ७१ वर्षका गुरुङपछि महाविर पुन पनि ७१ वर्षकै हुनुहुन्छ । तर, उहाँहरूमा केही महिनाको अन्तरले गुरूङ नै ज्येष्ठ हुनुहुन्छ ।
त्यसपछि ७० वर्षीय नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ज्येष्ठ सदस्यका रूपमा रहनु हुनेछ । ४० देखि ५० वर्ष उमेर समूहपछि सबैभन्दा धेरै सांसद ३० देखि ४० उमेरका रहनेछन् । यो संसद्मा ३० देखि ४० वर्षका ४८ जनाको उपस्थिति हुँदा ५० देखि ६० वर्ष उमेर समूहका ३९ जना सांसद रहने छन् ।