पुराना दललाई ऐतिहासिक झड्का, सात प्रदेशमा उपस्थिति खुम्चियो

फाल्गुन २४, २०८२ |दशरथ राई
पुराना दललाई ऐतिहासिक झड्का, सात प्रदेशमा उपस्थिति खुम्चियो

काठमाडौं । २०४८ सालदेखि नेपाली राजनीतिको मियोको रूपमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा नराम्रो झड्का ब्यहोर्नुपर्को छ । 

पुराना तीन दल कांग्रेस, एमाले र नेकपाले सात प्रदेशमा आफ्ना पार्टीका सांसदसमेत जिताउन सकेनन् । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फको १ सय ६५ क्षेत्रमा पुराना दलको प्रदेशहरुमै उपस्थिति शून्य रहेको छ । देशभर प्रत्यक्षतर्फ १० सिट जितेको एमालेले सबैभन्दा बढी ३३ सीट रहेको बागमतीमा एक सिट पनि जितेन । 

त्यसैगरी ३२ सिट रहेको मधेश प्रदेशमा पनि एमालेको उपस्थति शुन्य रह्यो । १८ सिट रहेको गण्डकीमा पनि एमाले पूर्ण विराम लाग्यो । २८ सिट रहेको कोशी प्रदेशमा भने एमालेका पाँच सांसदले जितेका छन्। २६ सिट रहेको लुम्बिनी र १२ सिट रहेको कर्णालीमा एमालेले एक-एक सिट जितेको छ भने १६ सिट रहेको सुदूरपश्चिम प्रदेशमा ३ सिटमा खुम्चिएको छ ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा ८८ सिट जितेर सबभन्दा ठूलो दल बनेको कांग्रेस २०८२ मा आइपुग्दा १७ मा झरेको छ। कांग्रेसले सातै प्रदेशमा आफ्नो उपस्थिति देखाए पनि संख्या भने अत्यन्तै न्यून छ । कोशीमा ३ सिट जितेको कांग्रेस मधेश र बागमतीमा एक-एक सिटमा खुम्चिएको छ । 

गण्डकी र लुम्बीनीमा दुई-दुई सिट जितेको कांग्रेसले कर्णालीमा ४ र सुदूरपश्चिममा ३ सिटमै चित्त बुझाएको छ । त्यस्तै २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ १८ सिट जितेको तत्कालीन नेकपा माओवादी यसपटक नेपाली कम्युनिष्ट पार्टी हुँदा ७ सिटमा खुम्चिएको छ । 

पुष्पकमल दाहाल संयोजक रहेको उक्त दलले पनि ४ वटा प्रदेशमा आफ्नो उपस्थिति नै देखाउन सकेन । कोशी, मधेश, गण्डकी र सुदूरमश्चिम प्रदेशमा यस पटक नेकपा शुन्य अवस्थामा छ भने ३ वटा प्रदेशमा मात्र सीमित भएको छ। नेकपाले बागमतीमा एक लुम्बिनी २ र कर्णाली प्रदेशमा ४ गरी जम्मा ७ सिट जितेको छ । 

निर्वाचनअघिसम्म झन्डै दुई दर्जन पार्टीसँग एकीकरण गरेर चुनावमा होमिएको नेकपाले अपेक्षाअनुसार जित भने हासिल गर्न सकेन । त्यस्तै ३२ सिट रहेको मधेश प्रदेशमा मधेश केन्द्रित दलहरू आफ्नै क्षेत्रमा नराम्रोसँग पराजित हुनुपरेको छ । यसअघिका निर्वाचनमा ती दलहरूको चुनाव जित्ने आधार नै मधेश प्रदेश थियो । तर यसपटक ती दल पनि शून्यको स्थितिमा पुगेका छन् ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।