
रामेछाप । प्रतिनिधि सभा निर्वाचनको एकमात्र क्षेत्र रहेको रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. कृष्णहरि बुढाथोकी विजयी हुनुभएकाे छ।
आइतबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार बुढाथोकीले २४ हजार ८०८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपा एमालेका माधवप्रसाद ढुङ्गेललाई ७ हजार १ सय ९९ मतान्तरले पराजित गर्नुभएकाे हाे। ढुङ्गेलले १७ हजार ६०९ मत प्राप्त गर्नुभएकाे छ।
त्यस्तै नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ मत प्राप्त गर्नुभएकाे छ। यसैगरी नेपाली कम्युनिष्ट पार्टीका श्यामकुमार श्रेष्ठले १३ हजार ३ सय ५४ मत प्राप्त गर्दा उज्यालो नेपाल पार्टीका दीपबहादुर योञ्जनले ७ हजार २१० मत पाउनुभएकाे छ। बुढाथोकीलाई मतगणना स्थलमा मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले निर्वाचित भएको घोषणा गर्दै प्रमाणपत्र समेत प्रदान गर्नुभएकाे छ ।
को हुन बुढाथोकी
डा. कृष्णहरि बुढाथोकी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार, रामेछापको मन्थली नगरपालिका-१२ गेलुमा जन्मिनुभएकाे हाे । उहाँले विभिन्न विषयमा मास्टर डिग्री हासिल गर्नुका साथै अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) गर्नुभएकाे छ । बुढाथोकीसँग बैङ्क तथा वित्तीय क्षेत्रमा २० वर्षभन्दा बढीको कार्य अनुभव छ । वित्तीय क्षेत्रका समस्या पहिचान तथा समाधानका लागि उनीसँग अनुसन्धानमूलक कार्यमा समेत काम गरेको अनुभव छ ।
विगत १० वर्षदेखि उहाँले ‘रामेछाप विकास बहस’ कार्यक्रम सञ्चालन गर्दै आउनुभएकाे छ । उक्त कार्यक्रममार्फत जिल्लाको समृद्धिका लागि उद्यमशीलता विकास, उत्पादन वृद्धि, बजारीकरण तथा शिक्षालाई सीपसँग जोड्ने अभियान अघि बढाइएको छ ।
रामेछापका धेरै स्थानीयले ‘रामेछाप विकास बहस’ लाई जिल्लाको विकासका विषयमा बहस सुरु गराउने महत्त्वपूर्ण पहलका रूपमा लिने गरेका छन् । सामाजिक तथा शैक्षिक अभियन्ताका रूपमा परिचित बुढाथोकी यसअघि रामेछाप-काठमाडौं सृजनशील समाज नेपालका संस्थापक अध्यक्ष तथा संयोजक पनि रहनुभएकाे थियाे । सो संस्थामार्फत उहाँले सामाजिक तथा मानवीय सेवामा योगदान दिनुभएकाे छ । विसं २०३८ साल भदौ १० गते जन्मिनुभएका बुढाथोकी २०८२ फागुन ३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आधिकारिक सदस्य बन्नुभएकाे हाे ।