
रामेछाप । रामेछापमा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बदर भएको मतलाई सदर गरिएको भन्दै विवाद उत्पन्न भएको छ।
विवादका कारण केही समय मतगणना अवरूद्ध भए पनि मुख्य निर्वाचन अधिकृतको जाँचबुझपछि पुनः सुचारू गरिएको छ। मतगणना भइरहँदा रास्वपाको चुनाव चिन्हमा परेको स्पष्ट बदर मतलाई गणना टोलीका कर्मचारीले सदरको सूचीमा राखेपछि अन्य राजनीतिक दलका प्रतिनिधिहरूले तत्काल विरोध जनाएका थिए।
कर्मचारीले त्रुटिपूर्ण ढंगले मतलाई सदर मानेको भन्दै दलका प्रतिनिधिहरूले नाराबाजी गरेपछि मतगणना कार्य केही समयका लागि स्थगित भएको थियो। स्थिति तनावपूर्ण बन्दै गएपछि मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपाल आफैं मतगणना स्थलमा पुगेर विवादित मतपत्रको जाँच गर्नुभएकाे थियाे।
जाँचका क्रममा उक्त मतपत्र नियमअनुसार ‘बदर’ नै भएको पुष्टि भएको थियो। त्यसपछि कर्मचारीबाट भएको कमजोरी स्वीकार गर्दै उक्त मतलाई बदरकै सूचीमा राख्ने निर्णय गरिएको हो। मुख्य निर्वाचन अधिकृत नेपालको निर्णयपछि दलका प्रतिनिधिहरूबीच सहमति जुटेको र रोकिएको मतगणना पुनः सुरू गरिएको छ।
मुख्य निर्वाचन अधिकृत नेपालले आगामी दिनमा यस्ता प्राविधिक त्रुटि दोहोरिन नदिन र पूर्ण सतर्कता अपनाउन गणनामा खटिएका कर्मचारीहरूलाई निर्देशन दिनुभएकाे छ।