मतगणना स्थल साँघुरो भएपछि रामेछापमा मतगणना ढिला, मालपोतको तल्लो तलामा सारिँदै

फाल्गुन २२, २०८२ |नवराज श्रेष्ठ
मतगणना स्थल साँघुरो भएपछि रामेछापमा मतगणना ढिला, मालपोतको तल्लो तलामा सारिँदै

रामेछाप । रामेछापमा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतगणना सुरू हुने समय थप ढिला हुने भएको छ । 

मतगणना स्थल साँघुरो भएको भन्दै राजनीतिक दल तथा उम्मेदवारहरूले स्थान विस्तार गर्न माग गरेपछि मतगणना प्रक्रियामा ढिलाइ भएको हो । यसअघि मन्थलीस्थित मालपोत कार्यालयमा मतगणना स्थल तयार गरिएको थियो । शुक्रबार बिहान ९ बजे बसेको सर्वदलीय बैठकले बिहान साढे ११ बजेदेखि मतगणना सुरू गर्ने सहमति गरेको थियो ।

तर मतगणना सुरू गर्ने समयमा स्थल साँघुरो भएको भन्दै राजनीतिक दल तथा उम्मेदवारहरूले ठाउँ बढाउन माग गरेका छन् । त्यसपछि अहिले मालपोत कार्यालयको माथिल्लो तलाबाट मतगणना स्थललाई तल्लो तलामा सारेर व्यवस्थापन गर्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

स्थान व्यवस्थापनको काम सम्पन्न भएपछि मात्र मतगणना सुरू गरिने जनाइएको छ । यस निर्वाचनमा रामेछाप जिल्लामा कुल ४८.२६ प्रतिशत मत खसेको छ । जिल्लामा रहेका १ लाख ८७ हजार ९५२ मतदातामध्ये ९० हजार ७१० जनाले मतदान गरेका छन् ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।