जलेश्वरमा होली पर्वको अवसर पारेर आज ‘फगुवा फुर्रर दंग’ कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२ |विकास आर्या
जलेश्वरमा होली पर्वको अवसर पारेर आज ‘फगुवा फुर्रर दंग’ कार्यक्रम सम्पन्न

महोत्तरी । जिल्लाको सदरमुकाम जलेश्वरमा होली पर्वको अवसर पारेर सोमबार ‘फगुवा फुर्रर दंग’ कार्यक्रम सम्पन्न भएको छ। 

मिथिला संस्कृति केन्द्रको आयोजनामा भएको कार्यक्रममा फागुवा पर्वसँग जोडिएका विभिन्न जोगिरा प्रस्तुत गरिनुका साथै कविहरूले निर्वाचनसँग सम्बन्धित व्यंग्यात्मक तथा सन्देशमूलक कविता वाचन गरेका थिए। कार्यक्रममा सहभागी कवि तथा कलाकारहरूले मिथिलाको मौलिक सांस्कृतिक परम्परा, सामाजिक यथार्थ र समसामयिक राजनीतिक सन्दर्भलाई जोगिरा र कवितामार्फत प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।

फागुवा पर्वमा अत्यन्त महत्वपूर्ण मानिने जोगिरा परम्परा पछिल्ला वर्षहरूमा लोप हुँदै गएको भन्दै यसको संरक्षण र प्रवर्द्धनका लागि ‘फगुवा फुर्रर दंग’ कार्यक्रम आयोजना गरिएको मिथिला संस्कृति केन्द्रले जनाएको छ। परम्पराअनुसार फागुवा (होली) पर्वभन्दा करिब एक महिनाअगाडिदेखि नै गाउँघरमा राति जोगिरा गाउने चलन रहिआएको थियो। तर, पछिल्ला केही वर्षयता जोगिरा गाउने होलैयाहरूको संख्या घट्नु, युवापुस्ताको चासो कम हुनुलगायत कारणले यो परम्परा ओझेलमा पर्न थालेपछि यसको संरक्षणमा युवाहरू सक्रिय बनेका छन्।

मिथिलाञ्चलमा अन्तर्गृह परिक्रमाको भोलिपल्ट होली खेल्ने परम्परा रहे पनि जोगिरा भने होलीभन्दा महिनौँ दिन पहिलादेखि नै गाउने चलन रहँदै आएको सांस्कृतिक जानकारहरूले बताएका छन्।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।