
काठमाडौं । २०५१ सालको मध्यावधिदेखि ०६४ सम्म पाँचपटक प्रधानमन्त्री पाएको क्षेत्र हो- हालको सुदूरपश्चिम प्रदेश ।
यस्तै ७२ सालमा संविधान जारी भइसकेपछि पनि दुईपटक शेरबहादुर देउवामार्फत सुदूरपश्चिमले प्रधानमन्त्री पाएको छ । तर यसपटकको निर्वाचनमा हालसम्म सुदूरपश्चिमबाट उम्मेदवारी दिएका कसैले पनि प्रधानमन्त्रीमा दाबी गरेका छैनन् । प्रधानमन्त्री पाउने बानी परेको सुदूरपश्चिम प्रदेश तथ्यांकमा भने कस्तो देखिन्छ त ?
२०५१ सालको मध्यावधिदेखि ०६४ सम्म पाँचपटक शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्दमार्फत प्रधानमन्त्री पाएको क्षेत्र हो- हालको सुदूरपश्चिम प्रदेश । यस्तै ७२ सालमा संविधान जारी भइसकेपछि पनि दुईपटक देउवामार्फत सुदूरपश्चिमले प्रधानमन्त्री पाएको छ ।
तर प्रधानमन्त्री पाउने बानी परेको सुदूरपश्चिममा यसपटक देउवा प्रतिस्पर्धामै हुनुहुन्न । र, हालसम्म सुदूरपश्चिमबाट उम्मेदवारी दिएका कसैले पनि प्रधानमन्त्रीमा दाबी गरेका छैनन् । यसपालिको निर्वाचनमा सुदूरपश्चिमका ९ जिल्लाका १७ लाख १६ हजार ६ सय ६० मतदाताले १६ सांसद चुन्नेछन् ।
सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, बैतडी, डडेलधुरा र डोटीमा १-१ निर्वाचन क्षेत्र छन् । अछाममा भने दुई कञ्चनपुरमा तीन र कैलालीमा पाँचवटा निर्वाचन क्षेत्र छन् । यो प्रदेशमा दुई सय ६ जनाले उम्मेदवारी दिँदा एक सय ८८ पुरूष छन् भने १८ महिला छन् ।
३५ वर्षमुनिका उम्मेदवार यहाँ जम्मा ४३ जना छन् । बैतडी र बझाङमा यो उमेर समूहका उम्मेदवार नै छैनन् । यस्तै यहाँ ६५ वर्षमाथिका ११ उम्मेदवार छन् । यहाँ ८ लाख ६४ हजार ४ सय २३ महिला मतदाता छन् भने ८ लाख ५२ हजार २ सय १९ पुरुष छन् । १८ जना अन्य समूहका मतदाता छन् ।
यो प्रदेशमा सबैभन्दा धेरै मतदाता कैलालीमा छन् । जहाँ ५ लाख ५१ हजार ४९ मतदाता छन् । त्यसपछि दोस्रो धेरै मतदाता कञ्चनपुरमा ३ लाख १४ हजार ३ सय ८५ छन् । त्यसैगरी सबैभन्दा कम मतदाता बाजुरा र दार्चुलामा छन् । बाजुरामा ८७ हजार ८ सय ६१ मतदाता हुँदा दार्चुलामा ९२ हजार ९ सय ४८ मतदाता छन् ।
यो प्रदेशमा १ हजार १ सय ७६ मतदानस्थल छन् भने मतदान केन्द्र २ हजार १ सय ९९ छन् । यसपटक सुदूरपश्चिमबाट केपी खनाल, चतुरबहादुर चन्द, लेखराज भट्ट, प्रेमबहादुर आले, भीमबहादुर रावल, बिना मगर, भुपदेव शाह, नैनसिंह महर, ताराप्रसाद जोशी, हरिप्रसाद बोहोरालगायत चर्चित उम्मेदवार छन् ।