
बर्दिया । बर्दियाको गुलरिया नगरपालिका-५ बालापुरका नागरिकको जग्गाधनी पुर्जा छैन ।
२ सय ५६ घरधुरी रहेका यो बस्तीका भूमिहीनले अहिलेसम्म जग्गाधनी पुर्जा पाउन सकेका छैनन् । २०२६ सालमा दाङबाट बसाइँसराइ गरेर बालापुरको ऐलानी जग्गामा बसोबास गर्दै आएका स्थानीयलाई हरेक निर्वाचनमा उम्मेदवार र दलहरूले भोट बैंकको रूपमा प्रयोग गर्न भने छाडेका छैनन् ।
बर्दियाको गुलरिया नगरपालिका-५ बालापुरमा बसोबास गर्दै आएका २ सय ५६ घरधुरी सुकुम्बासीको दुई पुस्ता बितिसक्दा पनि लालपुर्जाकै लागि संघर्ष गरिरहेका छन् । यस क्रममा कयौंको मृत्यु भइसके पनि लालापुर्जा प्राप्तिका लागि भएका पहल प्रभावकारी हुन सकेका छैनन् ।
८४ वर्षिय पुण्य थरूनी दांङबाट २०२४ सालमा बालापुर आएको बताउनुहुन्छ । घनाजंगल भएको ऐलानी जग्गामा बसोबास सुरु गरेका उहाँजस्तै धेरै भूमिहीनले लामो समय आस्वासन मात्र पाए, लालपुर्जा भने हात परेको छैन । वनको ऐलानी जग्गामा बसोबास गर्दै आएका भूमिहीनले तत्काल जग्गाधनी पुर्जा उपलब्ध गराउन माग गरेका छन् ।
निर्वाचनको समयमा मत माग्न आउने उम्मेदवार र दलहरूसँग स्थानीयले समस्या समाधान गर्न माग गरेका छन् । उनीहरूले आफ्ना समस्या समाधान गर्ने उम्मेदवार छान्न पनि बताएका छन् । विगतका निर्वाचनअघि आश्वासन दिएका उम्मेदवारले जितेर गएपछि काम नगर्दा जग्गाको पुर्जा नभएको उनीहरूको गुनासो छ ।
जग्गाधनी पुर्जा मात्र नभइ यहाँका स्थानीयलाई जंगली जनावरको त्रास पनि उत्तिकै छ । तरकारी बेचेर गुजारा गर्ने भूमिहीनका मुद्दा चुनावका बेला सुनिन्छन् तर, समाधानका लागि कसैले पहल गरेका छैनन् । विगतमा पटक-पटक सरकारले सुकुम्बासी आयोग बनाए पनि राजनीतिक आवद्दताका आधारमा केहीले जग्गाधनी पुर्जा पाए पनि वास्तविक भूमिहीन भने त्यो सुविधाबाट वञ्चित भएका छन् ।
निर्वाचित प्रतिनिधिले चुनावअघि गरेका वाचा पूरा गर्ने हो भने मात्र यहाँका भूमिहीनका समस्या समाधान हुन्छन् ।