
दाेलखा । २०४३ सालमा सडक सञ्जाल जोडिएपछि सगरमाथाको प्रवेशद्वार पनि भनिने जिरी एयरपोर्टमा स्थानीयले नियमित विमान उडेको देख्न छोडे ।
जिरीको पर्यटनको मेरुदण्ड मानिएको जिरी विमानस्थलको क्षमता विस्तार प्रत्येक निर्वाचनमा उम्मेदवारको प्रतिबद्धता पत्रमा उल्लेख हुन्छ । प्रधानमन्त्रीदेखि मन्त्रीहरूलेसमेत पटक-पटक जिरीबासीलाई खुसी पार्नकै लागि भए पनि एयरपोर्ट सञ्चालनको आश्वासन दिँदै आएका छन् ।
वि.सं. २०१४ सालदेखि जिरी बहुउद्देशीय विकास कार्यक्रम थालनी गरेको स्वीट्जरल्यान्ड सरकारले २०१७ सालपछि जिरीमा विमानस्थल बनाएको हो । स्वीस सरकारले आफ्नै लागि आउजाउ गर्न बनाएको जिरी विमानस्थलमा तीन दशकदेखि विमान उड्दैन ।
विमानस्थलको धावनमार्गमा सदावहार उम्रने दुवोमा चौपाय चर्छन् । हरेक निर्वाचनमा जिरी विमानस्थल चुनावी मुद्दा बन्ने गरको छ । तर सञ्चालनमा भने आउन सकेको छैन । पर्यटनको मेरुदण्ड मानिएको जिरीमा स्थानीयको पहिलो प्राथमिकतामा परेको विमानस्थलविरुद्ध कदम उठाउनेहरु जिरीभित्र बहिस्कृत नै हुन्छन् ।
त्यसैले जिरीबासीको मत तान्न पनि सबै उम्मेदवारले जिरी विमानस्थल प्रतिबद्धता पत्रमा उल्लेख गर्छन् । विगतमा पटक-पटक गरेको प्रतिबद्धता पूरा नभएपछि जिरीबासीले यस्ता आश्वासनप्रति विश्वस्त हुन सकेका छैनन् । सगरमाथाको प्रवेशद्वार मानिएको जिरी नेपालकै स्वीजरल्यान्डका रुपमा पनि चिनिन्छ ।
जिरीको पर्यटन विकास दलहरुको मत माग्नकै लागि चुनावी एजेन्डामा पर्छ । जिरी विमानस्थल मात्रै नभएर जिरीलाई चिनाउने धरै स्थलको विकासका लागि स्थानीयले ठोस योजना ल्याउन आग्रह गरेका छन् । २०५२-०५३ सालमा दुई वर्ष लगाएर गरिएको नापीको क्रममा विमानस्थलको जग्गा गुमेको इतिहास जिरीबासीले नमिठा दिनका रुपमा लिन्छन् ।
त्यस अघिसम्म हवाई विभागको स्वामित्वमा यो जमिन थियो । नापी कार्यालय र पशु विकास फर्मका अधिकृतहरुको जालसाजीले विमानस्थलको अस्तित्व गुमेको जिरीबासी दाबी गर्छन् । विमानस्थल सञ्चालनमा ल्याउने प्रतिबद्धता गर्दै हरेक निर्वाचनमा मत माग्न उम्मेदवारले यो मुद्दा उठाउँछन् ।