
काठमाडौं । दल र उम्मेदवारहरू राजनीतिक वाद र सत्ता समीकरणको जोडघटाउसहित मत माग्न घरदैलो पुगिरहेका बेला ७० प्रतिशतभन्दा बढी नागरिकले भने बेरोजगारी, आर्थिक कठिनाइ, सडक, स्वास्थ्य र पानीकै पहुँच नहुँदा सधै समस्या भोग्नुपरेको गुनासो गरेका छन् ।
कान्तिपुर मिडिया ग्रुप र सेयरकाष्ट इनिसियटिभको सहकार्यमा गरिएको सर्वेक्षणमा मुलुकका ७२ दशमलव ६ प्रतिशत नागरिकले आफूहरूले कुनै न कुनै समस्याको सामना गरिरहनु परेको बताएका छन् । बेरोजगारी, आर्थिक कठिनाइ, सडक यातायात, स्वास्थ्य, पानी जस्ता समस्याले आफूहरूलाई सधैं पिरोलिरहेको उनीहरूको गुनासो छ ।
१९ प्रतिशत नागरिकको सबैभन्दा ठूलो समस्या बेरोजगारीको छ । त्यसपछि १७ दशमलव ८ प्रतिशतले आर्थिक कठिनाइको समस्या झेलिरहेको बताएका छन् भने सडकको अवस्थाका कारण सास्ती भोग्नुपरेको, स्वास्थ्य उपचार र गुणस्तरीय शिक्षा, खानेपानीको समस्याको चक्र पनि केन्द्रमा छ ।
यसले देशको मुख्य पीडा अझै पनि आर्थिक अवस्था र अवसरसम्बन्धी भएको संकेत गर्छ । प्रदेशगत रूपमा कर्णाली र मधेश प्रदेशका ८४ प्रतिशतभन्दा धेरै उत्तरदाताले बेरोजगारी र अवसर नपाएकोसहितका कुनै न कुनै समस्या व्यक्त गरेका छन् ।
आम्दानी-खर्चको असन्तुलन तथा सेवामा सास्ती र पूर्वाधार विकासको अभावमा सुविधाबाट वञ्चित हुनुपरेको जस्ता विषयले नागरिक समस्यामा पारिरहेको संकेत गर्दछ । मुलुकका आधाभन्दा धेरै नागरिकले चुनावपछि बन्ने सरकारको शीर्ष प्राथमिकतामा सडक तथा यातायात, रोजगारी सिर्जना, स्वास्थ्य र शिक्षा सुधार हुनुपर्ने सुझाव दिएका छन् ।