संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबूत बनाउने निर्वाचन सुरक्षा समितिको निर्णय

सीमावर्ती क्षेत्रमा सुरक्षाफौजको उपस्थिति बढाइने
फाल्गुन १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबूत बनाउने निर्वाचन सुरक्षा समितिको निर्णय

काठमाडौं । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले देशभरिको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै संवेदनशील मानिएका क्षेत्रमा थप सुरक्षा बन्दोबस्ती मिलाउने निर्णय गरेको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा बसेको बैठकले मधेश प्रदेशका रौतहट र वीरगञ्जलगायतका स्थानमा पछिल्ला दिनमा भएका झगडा तथा झडपका घटनालाई आयोगले गम्भीरतापूर्वक लिएको छ । 

रौतहटमा विभिन्न समूहबीच उत्पन्न विवादले हिंसात्मक रूप लिएको र वीरगञ्जमा समेत ढुङ्गामुढा तथा प्रदर्शनका कारण स्थिति तनावपूर्ण बनेपछि निर्वाचन सुरक्षामा नयाँ चुनौती थपिएको विश्लेषण गरिएको छ । यी स्थानमा उत्पन्न तनावले निर्वाचनको वातावरण बिथोल्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा रणनीतिमा फेरबदल गर्ने विषयमा छलफल केन्द्रित भएको छ । 

बैठकले साम्प्रदायिक र राजनीतिक झडप भएका क्षेत्रलाई अति संवेदनशील सूचीमा राखी अतिरिक्त सुरक्षा बल परिचालन गर्ने तयारी गरेको छ । स्थानीय स्तरमा हुने विवादलाई तत्काल नियन्त्रणमा लिन र निर्वाचन बिथोल्ने तत्वलाई कानुनी दायरामा ल्याउन सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ ।

यसैबीच राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनको समयमा सबै पक्षलाई धैर्यता र संयमता अपनाउन आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरेर अरूप्रति लक्षित अमर्यादित र घृणायुक्त अभिव्यक्ति नदिन र सामाजिक सद्भाव विथोलिने गतिविधि नगर्न पनि ध्यानाकर्षण गराएको छ । 

आयोगले चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न पनि दल तथा उम्मेदवारहरूको ध्यानाकर्षण गराएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.