दलहरूको घोषणा पत्रमा खेलकुद : लोकप्रिय र महत्वाकांक्षी योजनाका चाङ, कार्यान्वयनमा शून्यता

फाल्गुन १२, २०८२ |विनयज्योति सापकोटा
दलहरूको घोषणा पत्रमा खेलकुद : लोकप्रिय र महत्वाकांक्षी योजनाका चाङ, कार्यान्वयनमा शून्यता

काठमाडौं ।  नेपाली खेलकूद क्षेत्र अनगिन्ती समस्याबाट थिलथिलो छ । घरेलु प्रतियोगिता समयमा हुन नसक्दा खेलाडी पलायन तीव्र भइरहेको छ भने राष्ट्रिय टिमहरूले नियमित अभ्यास गर्न पाएका छैनन् । राष्ट्रिय खेलकूद पटक-पटक स्थगनको शिकार बनिरहेको छ । विभिन्न राजनीतिक दलका सरकार बने पनि खेलकूद क्षेत्रको सुधारभन्दा खेलकूदमा राजनीति सबैको प्राथमिकता बन्यो । अहिले तिनै दलले चुनावको घोषण पत्रमा भने लोकप्रिय र महत्वाकांक्षी योजना ल्याएका छन् ।

नेपाली खेलकुदको सबैभन्दा ठूलो आवश्यकता स्थानीय तहदेखि केन्द्रीय स्तरसम्म आउने प्रतियोगिताको पिरामिड हो । बनेका पूर्वाधारको संरक्षण त नियमित काम नै भए । एसियाली खेलकुद आउन ८ महिना मात्रै बाँकी रहे पनि राष्ट्रिय टिमहरूको नियमित अभ्याससमेत भएको छैन । 

आसन्न निर्वाचनका लागि धमाधम दलहरूले घोषणा पत्र जारी गर्दा यी कुरामा गम्भीरता देखिँदैन । सरकारमा हुँदा राष्ट्रिय खेलकुदजस्ता अति जरूरी र गर्नेपर्ने कामसमेत बेवास्ता गरेका दललहरू अहिले त्यही कुरालाई चुनावी एजेन्डा बनाएर मैदानमा आएका छन् ।

कांग्रेसको घोषणा पत्रमा खेलकुदका बृहत् र महत्वकाँक्षी क्षेत्र समेटिएका छन् । नारासहित १० बुँदामा खेलकुदको विकासको अवधारणा घोषणा गरेको कांग्रेसले धेरै पक्षलाई समेटेको छ । इस्पोट्स, खेल कुटनीति, प्रशासनीक सुधार, फ्रेन्चाइज मोडेल, मिसन पदक र खेलको औद्योगीकरण लगायत विषयलाई समेटिएको छ । तर, समय नेपाली कांग्रेसकै खेलकुदमन्त्री तेजुलाल चौधरी हुँदा नेपाली खेलकुद तहसनहस भएका घटना खेलप्रेमीले भूलेका छैनन् । 

खेलकुदलाई कार्यकर्ता भर्ती केन्द्र बनाएको उहाँमाथि आरोप छ । उहाँकै पालामा राष्ट्रिय खेलकुद, एसियाली खेलकुद सहभागीता विवादित बन्यो भने नेपाली खेलकुद क्षेत्र विभाजित समेत भएको थियो । आसन्न निर्वाचनमा नेकपा (एमाले)को घोषणा पत्रमा नियमिति कार्यक्रम समावेश हुँदा, प्रष्ट विचारको घोषत्रा पत्र देखिँदैन । बजेटमा यसअघि नै समावेश कुरालाई नै घोषणा पत्रमा समावेश गरिएको छ । यो घोषणा पत्रले उत्साह दिँदैन र महत्वकाँक्षी पनि बनाउँदैन् । 

विद्यालय खेलकुद, शिक्षकको व्यवस्था र नाम तोकेर दुईवटा पूर्वाधार बनाउने भनिए पनि बाँकी संरचनाको उत्थान र खेलकुदलाई व्यवसायिक बनाउने पक्षमा एमालेको घोषणा पत्र मौन छ । एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा हुँदा तीन पटक सारिएको राष्ट्रिय खेलकुद समयमै गर्ने घोषण पत्रमा उल्लेख छ । एमालेले खेलाडी प्रोत्साहनको कुरा समेटेको छ तर पदक जित्ने तरिकाले कसरी खेलकुदको विकास गर्न सकिन्छ भन्ने सवालमा उसको घोषणा पत्रले स्पष्ट धारणा प्रस्तुत गर्दैन ।

रास्वपाले भने पुराना मान्यता र शैली विस्थापन गर्दै नयाँ तरिकाले खेलकुदमा काम गर्ने योजना प्रमुख रूपमा अघि सारेको छ । योजनाभन्दा काममा ध्यान दिने रास्वपाको घोषण पत्रमा उल्लेख छ । खेलकुद प्रशासनमा राजनीतिक नियुक्ति खारेज गर्ने लक्ष्य राखेको छ । तर, अहिले रास्वपाबाट उम्मेदवार भएका बब्लु गुप्ता मन्त्री हुँदा खेलकुदभित्र सिधैं राजनीतिक हस्तक्षेप गरेको खेल क्षेत्रले बिर्सिएको छैन । 

विश्वस्तरीय व्यवसायिक प्रशिक्षणको व्यवस्था तथा खेलाडीलाई सम्मान र पुरस्कारको पुरानै घोषणाहरू नयाँ दलमा पनि थपिएको छ । मौलिक खेललाई राष्ट्रिय गौरव घोषणा गर्ने र निजी लगानी बढाउने रास्वपाको घोषणा पत्रमा उल्लेख छ ।

नेपाली कम्युनिष्ट पार्टीले भने नेपाली खेलकुदमा विभिन्न समयमा चर्चा कमाएको विषयलाई घोषणा पत्रमा समेटेको छ । उसले क्रिकेट र यसको पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । बाँकी खेललाई सम्बोधन नभएको भए पनि उसले नियमित प्रतियोगिता, पुरस्कार र खेलमा समावेशीता र विकेन्द्रीकरणलाई घोषणामा केन्द्रित गरेको देखिन्छ । 

पपुलिस्ट योजनामा अघि देखिएको कम्युनिष्ट पार्टीले स्पष्ट अघि बढाउने योजना ल्याए पनि उसले विगतमा गरेको कामको प्रभाव भने कमजोर देखिन्छ । यसैगरी जनता समाजवादी पार्टीले वर्तमान बजेटमा समावेश केही बुँदालाई आफ्नो घोषणा पत्रमा समेटेको छ । उसको घोषणा पत्रले खेलकुदको गन्तव्य प्रष्ट पार्न सकेको छैन । श्रम संस्कृति पार्टीले भने खेलकुदको औद्योगीकरण भन्ने शब्दावली मात्रै घोषणा पत्रमा राखेको छ ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।