अर्घाखाँचीमा निर्वाचन तयारी तीव्र : ३७ अति संवेदनशील मतदानस्थल, सुरक्षामा कडाइ

फाल्गुन १२, २०८२ |रुद्रमणि भुसाल
अर्घाखाँचीमा निर्वाचन तयारी तीव्र : ३७ अति संवेदनशील मतदानस्थल, सुरक्षामा कडाइ

अर्घाखाँची । प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न केही दिनमात्र बाँकी रहँदा अर्घाखाँचीमा चुनावलाई लक्षित गर्दै जिल्ला सुरक्षा समिति र मुख्य निर्वाचन कार्यालयले तयारी तीव्र बनाएका छन् । 

निर्वाचन शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थापन, निर्वाचन आचारसंहितामा कडाइ, मतगणना स्थल निर्माणलगायतका कार्यहरू अघि बढाइएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाभरका मतदान स्थलहरूको स्थलगत अनुगमन गर्दै संवेदनशीलताको अध्ययनगरेको जनाएको छ ।

जिल्लामा २ सय ९ मतदान केन्द्र र १ सय २ मतदानस्थल रहेका छन् । अर्घाखाँचीमा दुर्गम बस्तीमा रहेका अधिकांश मतदानस्थल अति संवेदनशील सूचीमा रहेका छन् । जसमध्ये ३७ मतदानस्थल अति संवेदनशील, ४० वटा संवेदनशील र २५ वटा सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

शितगंगाका अधिकांश क्षेत्रका बस्ती छरिएर रहेको र घरभन्दा जंगल क्षेत्र धेरै छ । जहाँबाट घन्टाैं पैदल हिँडेर मतदान स्थलमा पुग्नुपर्ने बाध्यता छ  । ती मतदान केन्द्रमा पुगेर मतदातासहजै र सुरक्षित रूपमा मतदान गर्ने वातावरण बनाएको जिल्ला सुरक्षा समितिको दाबी छ ।

मुख्य निर्वाचन कार्यालयले मतदानस्थलमा पठाइने मतपेटिका, मतदाता नामावलीलगायतका आवश्यक सामग्रीको तयारी, निर्वाचन आचारसंहितामा कडाइ, मतदानमा खटिने कर्मचारी व्यवस्थापन, मतगणनास्थलको तारबार र मतदाता शिक्षालगायतका काम गरिरहेको छ ।

उम्मेदवारहरू आफ्नो एजेन्डा र प्रतिबद्धता बोकेर मतदाताको घरदैलोमा पुगिरहेका छन्। गाउँ-बस्तीमा चुनावी बहस, छलफल, भेटघाट, कोण सभा र प्रचारप्रसार भइरहेका छन् । अर्घाखाFचीमा १ लाख ७१ हजार ६५२ मतदाता रहेका छन् । तीमध्ये ८७ हजार १५७ पुरूष र ८४ हजार ४९५ महिला मतदाता रहेका छन् । 

एकमात्र निर्वाचन क्षेत्र रहेको प्रतिनिधि सभा सदस्यका लागि १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।


Image

रुद्रमणि भुसाल

भुसाल कान्तिपुर टेलिभिजनका अर्घाखाँची संवाददाता हुन् ।