
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतपेटिका सङ्कलन भएको २४ घन्टाभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
मतदान सम्पन्न भएलगत्तै मतपेटिका सङ्कलन गरी गणना कार्यलाई द्रुत गतिमा अघि बढाउने योजना आयोगले बनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले यसपटक परिणाम आउन समय नलाग्ने बताउनुभएको हो ।
मतपरिणामको समयसीमाबारे स्पष्ट पार्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले समानुपातिकको एक-दुई दिन लागे पनि प्रत्यक्षतर्फको परिणाम मतपेटिका संकलन भएको २४ घन्टाभित्र घोषणा गर्ने गरी आयोगले तयारी गरेको बताउनु भयो ।
उहाँले उपत्यका बाहिर मतपत्र पठाउने काम सकिएको तथा काठमाडौं, ललितपुर र भक्तपुरका केही स्थानमा मंगलबार साँझसम्म पुर्याइसक्ने गरी काम भएको जानकारी दिनुभयो । मतदान अधिकृतहरूको तालिम मंगलबार साँझसम्म सम्पन्न हुने र त्यसपछि आवश्यक सामान बुझेर सम्बन्धित मतदान केन्द्रहरूमा खटिने पनि उहाँले बताउनु भयो ।
निर्वाचन तयारीका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न गरी आयोग पूर्णरूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेको उहाँले जानकारी दिनुभयो । मतपत्र छपाइदेखि ढुवानीसम्मको जटिल व्यवस्थापकीय काम सम्पन्न भइसकेको र कर्मचारीहरू कार्यक्षेत्रमा खटिने क्रम सुरू भएको पनि उहाँले बताउनु भयो ।
हिमााली क्षेत्रमा अस्थायी मतदान केन्द्र निर्धारण गर्ने सन्दर्भमा आयोग निर्णयमा पुगि नसकेको उहाँले स्पष्ट पार्नुभयो । भौगोलिक विकटता र मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै आयोग मौसमको प्रतिकूलताको अध्ययन गरी मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्नबाट वञ्चित हुन नपर्ने गरी तत्काल निर्णय गर्नेगरी तयारी अवस्थामा रहेको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो ‘यदि त्यस्तो अवस्था आयो भने हामी जहाँ मतदाताहरू हुनुहुन्छ त्यहीँ गएर मत सङ्कलन गर्ने गरी आयोगले निर्णय गर्छ ।’ कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनको मुखमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउने काम नगर्न आाग्रह गर्नुभएको छ । उहाँले निषेधको राजनीति नगर्न राजनीतिक दलहरूलाई चेतावनी समेत दिनुभयो ।
उहाँले भन्नुभयो ‘कसैले कसैलाई निषेधको राजनीति गर्न पाइँदैन । स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ । स्वच्छ प्रतिस्पर्धाबाट मात्रै वास्तवमा निष्ठावान नेतृत्व चयन हुन्छ ।’ उहाँले सामाजिक सञ्जालमा आउने असत्य समाचारलाई तत्काल हटाउन र त्यसको पछि नलाग्न मतदातालाई आग्रह समेत गर्नुभयो । प्रतिनिधि सभाको निर्वाचनका लागि आगामी २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुने कार्यतालिका रहेको छ ।