.png&w=1000&height=550)
काठमाडौं । जय ट्रफी पुरूष एलिट कपअन्तर्गत नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबबीचको पहिलो दिनको खेल सकिँदा पुलिस ६ रनले पछि छ ।
पहिले ब्याटिङ गरेको एपीएफले ६३ ओभर ४ बलमा सबै विकेट गुमाएर एक सय ८५ रन बनाउँदा पुलिसले पाँच विकेटको क्षतिमा एक सय ७९ रन बनाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको एपीएफका लागि ओपनर आसिफ शेखले १२ र दीपक बोहराले २८ रन बनाए ।
कप्तान रोहित पौडेलले ४८ बलमा ४५ रन बनाउँदा सुमित महर्जनले सर्वाधिक ५५ रनको अर्धशतकीय योगदान दिए । यसपछि भने एपीएफका ब्याटरले साझेदारी बनाउन सकेनन् । पुलिसका बलरले साेमबार उत्कृष्ट प्रदर्शन गरे । ललित राजवंशी र सागर ढकालले एपीएफको पछिल्लो क्रम कमजोर पार्दै समान ४-४ विकेट बाँडे । ललितले ३१ दशमलव ४ ओभरमा ८१ रन दिए भने सागरले २६ ओभरमा ६६ रन खर्चिए ।
जवाफमा पुलिसले ४९ ओभर ५ बलमा ५ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । सोहेल कुँवर शून्यमा आउट भए पनि पुलिसका कुशलले २२ तथा अमित श्रेष्ठले ४१ रन जोडे । अमर रउटेलाको क्याचआउटमा पर्नुअघि दिलशाद अलीले ५८ रन जोडेका थिए । उनले ८७ बलको सामना गरे । शंकर राना भने ४८ रनमा अविजित छन् ।
साेमबार एपीएफका इरसाद अहमद, अभिशेष गौतम, युवराज खत्री, अमर र सन्दीप जोराले एक एक विकेट लिएका छन् । यही अवस्थाबाट भोलि बिहान टीयू क्रिकेट रंगशालामा खेलको निरन्तरता हुनेछ ।