जनकपुरमा चुनावी तामझाम : मन्दिरलगायतका ऐतिहासिक सम्पदा कुरूप बन्दै, नियामक मौन

फाल्गुन ११, २०८२ |अनिल मिश्र
जनकपुरमा चुनावी तामझाम : मन्दिरलगायतका ऐतिहासिक सम्पदा कुरूप बन्दै, नियामक मौन

धनुषा । प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिएसँगै मधेश प्रदेशको राजधानी जनकपुरधाममा निर्वाचन आचारसंहिता विपरितको काम पनि उत्तिकै बढेको छ । 

एकातर्फ जनकपुरधामलाई सफा बनाउनुका साथै चौतर्फी विकासको वाचा गर्दै उम्मेदवारले मतदाता रिझाउने काम गर्दै हिँडे पनि अर्कोतर्फ प्रचार सामग्रीले ऐतिहासिक सम्पदा कुरूप बनाउने पुरानो रोग यथावत् नै छ । ऐतिहासिक सम्पदालाई कुरूप बनाइ निर्वाचन आचारसंहिताको खुलेआम धज्जी उडाउने काम भई रहँदा पनि सरोकारवाला नियमक निकाय प्रतिबद्धता जनाउने मै सीमित छन् ।

जनकपुरधामको मध्य भागमा रहेको राम मन्दिरमा पुजा अर्चनाका लागि स्थानीय मात्र नभइ नेपाल र भारतका विभिन्न स्थानका दर्शनार्थीहरू आउने गर्छन् । दुई वर्षअघि रंगरोगन गरी यो मन्दिरलाई चिटिक्क पारिएको थियो । जानकी मन्दिरभन्दा पनि निकै पुरानो यो मन्दिरको चारैतिरको पर्खाललाई राजनीतिक दल र तिनका उम्मेदवारहरूले चुनावी पोष्टर पम्प्लेट टाँसेर कुरूप बनाएका छन् ।

राम मन्दिरको सामुन्ने रहेको धार्मिक र सांस्कृतिक महत्वका रामायण भवन र धनुष सागरको अवस्था पनि उस्तै छ । धार्मिक महत्व र निर्वाचन आचारसंहिताको कुनै ख्यालै नगरी उम्मेदवार र तिनका समर्थकहरूले जथाभावी विभिन्न किसिमका रंगीचंगी चुनावी पोष्टर पम्प्लेट टाँसिदिएका छन् । 

संरक्षण र सम्बर्द्धन गर्नुपर्नेहरूले नै ऐतिहासिक सम्पदाहरूलाई कुरूप बनाएको काम देखेर दर्शनार्थीहरू समेत दु:खी छन् । २०७९ को स्थानीय तहको निर्वाचनपछि मधेश प्रदेशको राजधानीसमेत रहेको धार्मिक तथा सांस्कृतिक lहर जनकपुरधामलाई स्वच्छ र सुन्दर बनाउने पहल थालिएको हो । 

स्थानीय तथा प्रदेश सरकारले बाह्रबिघा रंगभूमि मैदान, जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, धनुष सागरलगायतका ठाउँका पर्खाललाई लाखौं खर्चेर रंगरोगन गरेको थियो । निर्वाचन आयोगले सार्वजनिक स्थानमा तुल, ब्यानर र पर्चा, पम्लेट टाँस्न रोक लगाए पनि जनकपुरधाममा त्यसको खासै प्रभाव परेको छैन ।

चर्को आलोचना भएपछि सहरी क्षेत्रमा केही हदसम्म चुनाव चिन्ह अंकित झण्डा र ब्यानर हटाउने काम भए पनि ग्रामीण क्षेत्रका चोक चोराहा, सार्वजनिक स्थल र व्यक्ति विशेषका घरमा पनि तामझामका साथ प्रचार-प्रसारमा जुटेका राजनीतिक दलले पर्चा पम्प्लेट, ब्यानर, झण्डा जथाभावी टाँसेका छन् । 

आचारसंहिता विपरित पोस्टर, तुल ब्यानर जस्ता प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा कानुन अनुसार कारबाही गर्ने, तत्काल हटाउने र त्यस्तो स्थानलाई दुरूस्त बनाइ राख्नुपर्नेमा अहिलेसम्म खासै काम भएको छैन । यति मात्र होइन राजनीतिक दल र उम्मेदवारहरू चुनाव प्रचारप्रसारमा बालबालिकाहरूको प्रयोग समेत गरेको पाइएको छ । 

यसका साथै उम्मेदवारले चुनावी प्रचारात्मक टोपी र टिसर्ट वितरण गर्नुका साथै चर्को स्वरमा डीजे बाजा बजाउने गरेको समेत पाइएको छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।