धादिङ बस दुर्घटनाबारे छानबिन गरी प्रतिवेदन पेस गर्न पाँच सदस्यीय कार्यदल गठन (विज्ञप्तिसहित)

फाल्गुन ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
धादिङ बस दुर्घटनाबारे छानबिन गरी प्रतिवेदन पेस गर्न पाँच सदस्यीय कार्यदल गठन (विज्ञप्तिसहित)

काठमाडौं । सरकारले धादिङमा भएको बस दुर्घटनाबारे छानबिन गरी प्रतिवेदन पेस गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

गृह मन्त्रालयमा साेमबार बसेको सरोकारवालाको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा गृहसचिव, भौतिक तथा यातायात पूर्वाधार सचिव, सडक विभागका महानिर्देशक, सुरक्षा निकायका प्रमुखहरू, यातायात व्यवसायी महासंघ र मजदुर संघका प्रतिनिधिको सहभागिता थियो ।

बैठकले घाइतेहरूको उद्धार, दोषीलाई कारबाही गर्ने र समिति गठन गर्ने निर्णयसहित राहतका विषयमा पनि छलफल गरेको गृह मन्त्रालयकी सूचना अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिनुभयो । गृहमन्त्री अर्यालले पनि उद्धार र उपचारलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । 

उहाँले आगामी दिनमा यस्ता प्रकृतिका घटना दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सडक सुरक्षामा बनेका कानुनको प्रभावकारी कार्यान्वयन र कडाइका साथ नियमन गर्न निर्देशन दिनुभयो । पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस साेमबार बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ भैंसीगौंडामा दुर्घटनामा परेको हो । दुर्घटनामा १९ जनाको मृत्यु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.