
महोत्तरी । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि महोत्तरीमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको तालिम सुरू भएको छ ।
महोत्तरी निर्वाचन क्षेत्र नं १ का मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई लक्षित गरेर सोमबार एकदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी विषयमा तालिम दिइनेछ ।
प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत र एक जना सहायक मतदान अधिकृत खटिने व्यवस्था गरिएको छ । फागुन २१ गते हुने निर्वाचनमा महोत्तरीको ४ निर्वाचन क्षेत्रमा जम्मा ५ सय ३६ मतदान केन्द्रका कुल १ हजार ७२ मतदान अधिकृत तथा सहायक मतदान अधिकृतकालागि तालिम सञ्चालन हुनेछन् ।
महोत्तरीमा निर्वाचनकालागि ३ हजार २ सय १६ कर्मचारी खटाइएको छ । निर्वाचन कार्यालय महोत्तरीकाअनुसार सोमबारबाट सुरू तालिम क्रमशः महोत्तरीको अन्य निर्वाचन क्षेत्रमा समेत मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूकालागि तालिमको आयोजना गरिनेछ ।
तालिममार्फत मतदान प्रक्रियामा निष्पक्षता कायम राख्न, मतदाता सुविधा सुनिश्चित गर्न र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न तयारी समेत भइरहेको छ ।